रोटरी भवनको उद्घाटन गर्नुहुँदै मेयर महत ।

हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा निर्माण भएको रोटरी क्लब अफ हेटौंडाको भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शनिबार एक कार्यक्रमका बीच रोटरी भवनको उद्घाटन गर्नुभएको हो ।

शनिबार उद्घाटन गरिएको रोटरी भवन ।

क्लब स्थापनाको २५ बर्ष पूरा भएको अवसरमा ५ वर्ष अगाडि रोटरी भवनको शिलान्यास गरिएको थियो । नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर चिरञ्जीवी नेपालले भवनको शिलान्यास गर्नुभएको हो । १५ धुर जग्गामा क्लबको भवन निर्माण भएको छ । अण्डरग्राउण्ड पार्किङसहित ५ तल्ले भवन निर्माणमा हालसम्म १ करोड ४६ लाख रुपैयाँ खर्च भइसकेको क्लबका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार अझै भवनको कार्य पूरा गर्न करिब ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दुईवटा तल्ला भाडामा दिइसकेको जानकारी गराउनुहुँदै अध्यक्ष शर्माले क्लबको नियमित आम्दानीबाट सामाजिक सेवाको कार्य गर्ने योजना रहेको बताउनुभयो । सभाकक्षसहितको रोटरी भवनमा लिफ्ट समेत जडान गरिनेछ । भवन उद्घाटन कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव डा. तीर्थमान शाक्य, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल/भुटानका गभर्नर सन्तोष रिजालको पनि उपस्थिति रहेको थियो ।