हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाको आयोजनामा दुईदिने बाल साहित्य कार्यशाला सुरु भएको छ । कार्यशालाको पहिलो दिन शुक्रबार निबन्ध लेखन कार्यशाला भएको छ । सिद्धार्थ माविको सभाकक्षमा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका पूर्वअध्यक्ष श्यामकुमार बानियाँले निबन्धका सैद्धान्तिक पक्ष, विद्यालय तहको पाठ्यक्रममा निबन्धको स्वरुपका साथै निबन्ध लेखनका सीपबारे सहजीकरण गर्नुभएको छ ।
कार्यशालाका सहभागीलाई विभिन्न विषयमा निबन्ध लेख्न लगाई उत्कृष्ट निबन्धहरूलाई पुस्तकका रुपमा प्रकाशित गर्ने उद्देश्य रहेको कार्यशाला संयोजक छविलाल श्रेष्ठले जानकारी दिनुभएको छ । कार्यशालाको उद्घाटन कार्यक्रममा शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले कार्यशालाले बालबालिकाको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । कार्यशाला अन्तर्गत शनिबार ‘बालबालिकाले के पढ्ने र कसरी लेख्ने ?’ विषयमा बहस कार्यक्रम सञ्चालन हुँदैछ । बहसमा बाल साहित्य समाज नेपालका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे, लेखक अनुराधा शर्मा, प्रकाशक रामचन्द्र तिमोथी र बाल साहित्यका अभियन्ता दीपक गौतमको सहभागिता रहनेछ ।
हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा बिहान ८ बजेदेखि हुने कार्यक्रममा मकवानपुरका कविहरूका शिक्षासम्बन्धि कविता समेत वाचन हुनेछन् । कार्यशालामा उपमहानगरभित्रका विभिन्न २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ५० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको छ ।