किसानलाई मकैको बीउ हस्तान्तरण गर्दै ।

हेटौंडाः ईन्द्रसरोवर गाउँपालिका कृषि विकास शाखाले गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाले कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार नै सबै किसानहरुलाई मकैको बीउ अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा देउती र मनकामना–३ जातका मकैको बीउ वितरण गरेको छ ।

मकै खेति सुरु हुनु अगावै गाउँपालिकाले कृषकहरुको सहजताको लागि सबै वडाहरुमा सहकारी, कृषक समूह मार्फत् किसानलाई बीउ वितरण गरेको ईन्द्र सरोबर गाउँपालिकाको कृषि प्राविधिक कुमार पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले देउती जातको मकैको बीउ ९ सय किलोग्राम र मनकामना–३ जातको मकैको बीउ ८ सय ९१ किलोग्राम वितरण गरेको जनाएको छ । किसानको मागको आधारमा नै बीउ खरिद गरी किसानलाई वितरण गरिएको कृषि प्राविधिक पौडेलले जानकारी दिनुभयो ।

यस्तै, गाउँपालिकाले कृषि उत्पादनलाई ध्यानमा राखेर २ सय २० जना किसानको माटो परिक्षण गरेको छ । माटो परिक्षण गर्दा माटोमा अम्लियको मात्रा बढी देखिएकोले किसानहरुको मागको आधारमा निशुल्क कृषि चुन वितरण गरिएको छ । गाउँपालिकाले हालसम्म ३८ हजार किलो कृषि चुन निशुल्क वितरण गरेको छ । यस्तै, ३५ हजार किलोग्राम कृषि चुन वितरणको तयारीमा रहेको कृषि प्राविधिक पौडेलले जानकारी दिनुभयो ।