एमफील तहको अध्ययनका लागि अनुदान रकमसम्बन्धी सम्झौतापछि उपप्राध्ध्यापक उमेश महत (बायाँ) र पुरुषोत्तम खतिवडा (दायाँ) क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायसँग ।

हेटौंडाः हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसले क्याम्पसका प्राध्यापकका लागि एमफिल तथा विद्यावारिधी तहको अध्ययन गर्न अनुदान दिन सुरु गरेको छ । क्याम्पसमा स्थायी नियुक्ति पाएको ३ बर्ष पूरा भएपछि एमफील तथा विद्यावारिधी तहको अध्ययन गर्न चाहने प्राध्यापकको हकमा यस्तो कार्यक्रम लागु हुनेछ ।

क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले बुधबार उप प्राध्यापक उमेश महत र पुरुषोत्तम खतिवडासँग अनुदान सम्झौता गर्नु भएको छ । क्याम्पसका प्राध्यापकको क्षमता अभिवृद्धि तथा उच्चतम् शैक्षिक योग्यता हासिल गर्न प्रेरित गर्ने गरी पहिलो पटक अनुदान कार्यक्रम लागु गरिएको क्याम्पस प्रमुख डा. उपाध्यायले बताउनुभयो । महत र खतिवडाले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापन संकायमा एमफील तहको अध्ययन गरिरहनुभएको छ ।

मकवानपुर बहुमुखी क्याम्पसको गत बैशाख २५ गतेको क्याम्पस सभाले प्राध्यापकहरुलाई एमफील तथा विद्यावारिधी तहको अध्ययनका लागि अनुदान उपलब्ध गराउने नीति पारित गरेको थियो । पहिलो पटक महत र खतिवडालाई जनही एक लाख २० हजार रुपैयाँ अनुदान दिने सम्झौता गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसले एमफील अध्ययनका लागि बढीमा एक लाख २५ हजार रुपैयाँसम्म उपलब्ध गराउने छ । यस्तै विश्वविद्यालयमा लाग्ने शूल्कको ७५ प्रतिशत रकम एक लाख २५ हजार रुपैयाँ भन्दा कम हुने अवस्था रह्यो भने ७५ प्रतिशत बराबरको रकम उपलब्ध गराउने क्याम्पस प्रमुख डा. उपाध्यायले बताउनुभयो । विद्यावारिधी तहको अध्ययनको हकमा भने बढीमा २ लाख ५० हजार रुपैयाँ वा शिक्षण शूल्कको ७५ प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अनुदान रकम तीन चरणमा वितरण गरिने क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । ८९ जना प्राध्यापक रहेको मकवानपुर बहुमुखी क्याम्पसमा विद्यावारिधी गरेका ७ जना, एमफील गरेका एक जना प्राध्यापक हुनुहुन्छ भने एमफील तथा विद्यावारिधी तहको अध्ययन गरिरहनु भएका प्राध्यापकको संख्या उल्लेख्य रहेको छ । अध्ययनका लागि क्याम्पसले नै अनुदान रकम उपलब्ध गराउने भएपछि प्राध्यापकहरुले एमफील तथा विद्यावारिधी तहको अध्ययनमा आकर्षित हुने क्याम्पस प्रमुख डा. उपाध्यायको भनाइ छ ।