हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएका वेश खड्गीले पदभार ग्रहण गर्नुभएको छ । आइतबार एक कार्यक्रमका बीच खड्गीले पदभार ग्रहण गर्नुभएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य हिक्मत थपलिया, मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सानु लामासहित विभिन्न खेल संघका अध्यक्ष तथा पदाधिकारी, प्रशिक्षक, खेलाडीको उपस्थितिमा खड्गीले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्नुभएसँगै अध्यक्ष खड्गीले पूर्वअध्यक्षहरुको भेला गरेर आवश्यक सुझाव लिई कार्ययोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले खेल क्षेत्रका सवैको साथ र सहयोगमा खेलकुद गतिविधि गर्ने बताउनुभयो । बक्सिङ संघका केन्द्रीय सदस्य एवम् पूर्वजिल्ला अध्यक्ष समेत रहनुभएका खड्गीले २०७२ सालको भूकम्पमा परी निधन भएका पत्रकार सुमन भोम्जनको स्मृतिमा गठन गरिएको प्रतिष्ठानमार्फत आफूले गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको स्मरण गर्नुहुँदै खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी रहेको औँल्याउनुभयो ।
पदभार ग्रहण कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य हिक्मत थपलियाले जिल्ला खेलकुद विकास समितिको मुख्य लक्ष्य नै खेलाडी उत्पादन गर्नु रहेको बताउनुभयो । आफूले काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्षको रुपमा कार्य गरिसकेको उल्लेख गर्नुहुँदै थपलियाले खेलकुद क्षेत्रको विकासमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । खेलकुद संघ र समितिहरुमा निश्चित अवधिका लागि पदाधिकारी नियुक्त हुने भए पनि स्थायी रुपमा खेलकुदको विकास गर्ने जिम्मेवारी प्रशिक्षकको हुने थपलियाको भनाइ थियो । खेलकुद पूर्वाधार विकासमा खेलकुद विकास समितिले ध्यान दिनुपर्ने सुझाव थपलियाको छ ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्ष सानु लामाले आफ्नो कार्यकालमा बजेट अभावका बीचमा पनि खेल क्षेत्रको विकासमा सक्दो प्रयास गरेको बताउनुभयो । खेल क्षेत्रकै व्यक्तिले अध्यक्षको जिम्मेवारी पाउनु सुखद् भएको उल्लेख गर्नुहुँदै आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहने लामाको भनाइ छ । वेश खड्गीको पदस्थापन कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, भलिबल संघका अध्यक्ष बिन्द्रलाल श्रेष्ठ, क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, बक्सिङ संघका अध्यक्ष दीपेश जोशी, फुल कन्ट्याक्ट कराँतेका अध्यक्ष किशोर श्रेष्ठ, कराँतेका अध्यक्ष राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।