बकैयाः पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुँडेमा हात्तीसुँडे सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको छ । पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि शुक्रबार ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ ।
बकैया कला–साहित्य महोत्सव–२०७८ उद्घाटन समारोहमा अभियानको तर्फबाट पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र ३ नम्बर वडा अध्यक्ष दिलबहादुर भोम्जनलाई पुस्तक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पुस्तकालय अभियान समूहको विषयमा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
पुस्तकालय स्थापनाका लागि झरना साहित्यिक परिवारले पनि आवश्यक सहजीकरण गर्ने जनाएको छ । महोत्सवकै अवसरमा पुस्तकालय स्थापनाका लागि पहल गरेको झरना साहित्यिक परिवारले पुस्तकालय स्थापनाकै लागि पुस्तक संकलनको कार्य समेत गरेको छ । पुस्तकालय अभियान समूह र गाउँपालिकासँग समेत समन्वय गरी पालिकाका सवै वडामा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिइएको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभएको छ ।
पुस्तकालय अभियान समूहले हात्तीसुँडे सार्वजनिक पुस्तकालयसहित १४ वटा पुस्तकालय स्थापना गरिसकेको श्रेष्ठले जानकारी दिनुभयो । यसअघि बकैया गाउँपालिकाको ४ र ७ नम्बर वडामा पनि पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापना गरिसकेको छ । पुस्तक ग्रहण गर्नुभएपछि वडा अध्यक्ष दिलबहादुर भोम्जनले वडा कार्यालयमै अथवा उपयुक्त स्थानमा पुस्तकालय स्थापना गरिने जानकारी दिनुभयो । हात्तीसुँडे सार्वजनिक पुस्तकालयका लागि पुस्तक खरिद गर्न हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले आर्थिक सहयोग गरेको हो ।