हेटौंडाः अखिल नेपाल महिला संघ मकवानपुरको आयोजनामा १ सय १२ औ अन्तर्राष्ट्रिय नारी दिवस मकवानपुरमा भव्यरुपमा मनाइएको छ । संघका अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य जुनेलीमाया श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले सन् १९१० मा श्रमिक महिलाहरुको आन्दोलनले समान ज्याला र समान काम गर्ने समय निर्धारण भएको बताउनुभयो । महिलाहरुले भोट हाल्ने अधिकार सुनिश्चित भएदेखि वर्तमान समयमा निर्वाचित भई संघीय संसद, प्रदेश संसद र स्थानीय पालिकामा महिलाहरुको प्रतिनिधित्व भएको बताउनुभयो ।

महिलाहरुले गरेको व्यक्तिगत अधिकारकोे आन्दोलन र पेसागत जनवर्गीय संघर्षले आर्थिक, राजनीतिक, सामाजिक अधिकार प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अहिले लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जातजाति, समुदायको लैंगिक क्षेत्रको हिसाबले पाउनुपर्ने अधिकारहरु संविधानमा लिपिवद्ध गरिएको उहाँले बताउनुभयो ।

नेकपा एमाले मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाले योगमायाले गरेको सहकार्य स्मरण गराउनुभएको थियो । योगमायाले महिला अधिकारका लागि लडेको र समाजमा भएको विकृति, कुरिति हटाउन उहा“ले गरेको योगदानले वर्तमान समयमा धार्मिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा अग्रणी भूमिका रहेको रानाले बताउनुभएको छ । जनताको विश्वासको आधारमा भोट लिएर पटकपटक प्रधानमन्त्री बन्नेहरुले जनताको अपमान गर्दै आएको र त्यसमा महिलाहरुले विरोध गर्नुपर्ने उहा“ले दावी गर्नुभयो ।

/अञ्जना तामाङ/