हेटौंडाः मधेश प्रदेशको पर्सा जिल्लामा हुने प्रथम वीरगन्ज महिला गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सहभागी हुने भएको छ । आउँदो चैत २ गतेबाट सुरु हुने प्रतियोगिता वीरगन्ज युथ एकेडेमीले आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागी हुन तयारी भइरहेको हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिनुभएको छ । हेटौंडा फुटबल एकेडेमीमा २० जना महिला खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन् । एकेडेमीले हेटौंडा–४, हुप्रचौरमा दैनिक २ देखि ३ घण्टासम्म महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ ।
प्रतियोगिताको तयारीकै लागि हेटौंडा बजार आसपासभन्दा टाढाबाट आउनुपर्ने महिला खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षणमा सहभागी गराउने प्रयास भइरहेको प्रशिक्षक लामाले जानकारी दिनुभयो । महिला खेलाडीका लागि राम्रो अवसर भएका कारण एकेडेमीले नियमित प्रशिक्षण गराइरहेको छ । हेटौंडा बजारक्षेत्रका साथै हेटौंडाको हर्नामाडी, पदमपोखरी, मनहरी गाउँपालिकाको चकरी, सुनाचुरी, बागमती गाउँपालिकाका महिला खेलाडी एकेडेमीमा नियमित प्रशिक्षण गरिरहेका छन् ।
प्रशिक्षणमा रहेका महिला खेलाडीलाई एकेडेमीले बेला–बेलामा मैत्रीपूर्ण खेलमा समेत सहभागी गराउँदै आएको छ । महिला खेलाडीलाई नियमित प्रशिक्षण सुरु गरेयता नवलपुर जिल्लाको गैंडाकोटको महिला टिम र बारा जिल्लाको अम्लेखगन्जस्थित महिला फुटबल टिमसँग हेटौंडा फुटबल एकेडेमीको महिला टिमले मैत्रीपूर्ण खेल खेलिसकेको छ ।
३ लाख राशीको प्रथम वीरगन्ज महिला गोल्डकप फुटबल प्रतियोगितामा आयोजक वीरगन्ज युथ एकेडेमीसहित मकवानपुर जिल्लाको हेटौंडा फुटबल एकेडेमी, बागमती गाउँपालिकाको बागमती गाउँपालिका फुटबल खेलकुद विकास समिति, सर्लाहीको बागमती युवा क्लब, बारा जिल्लाको निजगढ फुटबल क्लब, अमलेखगन्जको सिद्धबाबा युवा क्लब, भारतको नरकटियागन्ज र छपरा टिम सहभागी हुनेछ ।