विश्वका विकासशील तथा अल्पविकसित देशका लागि बालश्रम प्रमुख समस्याका रुपमा रहेको छ । समयमै उचित सम्बोधन गर्न नसक्दा लामो समयदेखि देशको लाभांशको उपयोगलाई समेत असर गर्दै आएको छ । आर्थिक दृष्टिकोणबाट सक्रिय जनसंख्याको ठूलो हिस्सा अशिक्षित हुँदा बालश्रम बढ्ने गर्दछ । जसकारण देशलार्ई दीर्घकालीनरुपमा प्रभावित बनाउने गर्दछ । जुन समस्या नेपालले भोग्न बाध्य भएको छ । सुखद् सम्भावना भनेर उदाउनुपर्ने बालबालिका नै बालश्रमजस्तो दुष्चक्रमा रुमलिएपछि समाज तथा देशले अपेक्षित विकास गर्न सक्दैन । देश विकासका लागि बालश्रम उन्मूलन गर्दै जीवन उपयोगी प्राविधिक शिक्षामार्फत् दक्ष जनशक्तिमा परिणत गर्न सक्नुपर्दछ । बालश्रम हैन बाल अधिकार संरक्षणमा अग्रसर हुन आवश्यक छ ।
बालश्रमविरुद्धका कानुन बने पनि नेपालमा व्यवहारिक कार्यान्वयन हुन नसक्दा समस्या भएको हो । १८ वर्ष उमेर पूरा नगरेका उमेर समूहकालाई जोखिमपूर्ण काममा लगाउन नपाइने व्यवस्था भए पनि लाखौंको संख्यामा बालबालिकाहरु श्रम क्षेत्रमा छन् । शिक्षा लिनुपर्ने उमेरमा श्रम गर्न बाध्य हुनुपर्ने कारण समाजदेखि राज्यका सबै अंगलाई जानकारी छ । तर पनि बालश्रम अन्त्यका लागि ठोस पहल हुन सकिहरेको छैन । दैनिकरुपमा नै श्रम बजारमा बालबालिकाहरु आउने गरेका छन् । बालबालिकाहरुलाई सस्तैमा श्रम गर्न लगाउन पाइने भएकाले पनि उनीहरुको माग अझै बढेको अवस्था छ । बजारमा सस्तो श्रमका नाममा बालबालिकाहरुको प्रयोग रोक्नु पर्नेछ । तर नेपालमा अझै बढ्दै गएको पाइन्छ ।
बागमती प्रदेशमा ६ हजार जनाभन्दा धेरै बालबालिका निकृष्ट बालश्रममा रहेको पाइएको छ । देशभरमा दुई लाख बालबालिका निकृष्ट बालश्रममा रहेका छन् भने बागमतीमा त्यसको ३ दशमलव १ प्रतिशत अर्थात् छ हजार दुई सय जना बालबालिका निकृष्ट बालश्रममा रहेको तथ्यांकहरुले देखाएका छन् । देशकै सबैभन्दा आर्थिकरुपमा समृद्ध तथा शैक्षिक दृष्टिकोणबाट पनि अघि भएको प्रदेशमा बढी बालश्रमिक हुनु दुःखद् पक्ष हो । बालश्रमिकको अवस्था शून्य हुनुपर्ने प्रदेशमा सबैभन्दा बढी हुने निकृष्ट बालश्रम हुनु देशकै लागि चुनौती हो । बालबालिकाको शैक्षिकदेखि स्वास्थ्य अधिकार सुरक्षित गर्नुपर्ने निकायहरुसमेत रमिते बन्नु दुःखद् अवस्था हो । बालश्रम किन बढ्दै गएको छ भन्ने पक्षको अध्ययन हुन जरुरी छ ।
अध्ययनहरुले बालश्रममा लाग्नुको मुख्य कारण गरिबी देखिएको छ । बालबालिकाहरु श्रममा लाग्नुपर्ने मुख्य कारणमध्ये अभिभावकको पनि जिम्मेवारी हुन्छ । तथ्यांकअनुसार बालश्रम गर्नेमध्ये १० वर्षमुनिका १३ दशमलव १ प्रतिशत, १० देखि १३ वर्ष उमेर समूहका १९ प्रतिशत र १४ देखि १९ वर्ष समूहका ६७ दशमलव २ प्रतिशत छन् । बालश्रममा रहेकामध्ये बागमती प्रदेशका एक हजार ५ सय ३५ जना बालश्रमिकहरुमा गरिएको अध्ययनले काम छोड्न चाहना राख्नेहरु कमै मात्रामा पाइएको देखाएको छ । निकृष्ट बालश्रमिकमध्ये तीन प्रतिशत बालबालिकाहरु २० घण्टासम्म काममा जोतिनुपरेको अवस्था रहेको छ । यस्तो अवस्थामा प्रदेश तथा स्थानीय तहबाट पनि थप कानुनी व्यवस्था गर्दै बालश्रम निर्मूल गर्नेतर्फ अग्रसर हुनुपर्दछ ।