चिरञ्जीवी लामिछाने ।


रोगहरुलाई सामान्यतया सर्ने र नसर्ने गरी दुईभागमा बाँडिएको छ । सर्ने रोगहरू विभिन्न बाह्य कारक तत्वहरूले गर्दा लाग्दछन् । विभिन्न माध्यमबाट एक–अर्कामा रोग सर्ने गर्दछ । नसर्ने रोगहरू मुख्यतया शरीरको आन्तरिक खराबीले गर्दा लाग्दछ । दीर्घरोगको श्रेणीमा पर्ने अधिकांश रोगहरू नसर्ने प्रकृतिका नै हुन्छन् । लागेपछि दीर्घकालसम्म वा धेरैजसो अवस्थामा जीवनकालभरि नै त्यसको असरबाट गुज्रनु पर्ने भएकाले तिनीहरूलाई दीर्घरोग (अजचयलष्अ मष्कभबकभ) भनिएको हो । मुटुसम्बन्धी रोगहरू, विभिन्न प्रकारका क्यान्सरहरू, हाडजोर्नी तथा नशासम्बन्धी समस्या, थाइर्वाइड, दम, शरीरका भित्री अंगहरूको कार्यह्रास आदि समस्याहरू दीर्घरोगका रूपमा जताततै व्याप्त छन् । यी रयस्ता समस्याहरू अहिलेको समयको मेडिकल भाषामा अनेकौं विशेषणहरूका साथमा तपाईं हामी माझ सुपरिचित छन् ।

वर्तमान विश्व परिवेश हेर्ने हो भने दीर्घरोगहरु नै अहिलेको सबैभन्दा ठूलो स्वास्थ्य समस्याको रूपमा देखापरेको छ । यस्ता रोगहरू थोरैसमयमा वा एकैपटक लाग्ने खालका हुदैँनन् । मानिसलाई थाहै नदिई लाग्नेखालका यस्ता रोगहरूले कतिपय अवस्थामा संकेतसम्म पनि दिँदैनन् । एकैपटक घातक असर देखाउन पनि सक्दछन् । यसैकारण दीर्घरोगहरू वर्तमानको धेरै ठूलो स्वास्थ्य चुनौतीको विषय बन्न पुगेको छ । भनिन्छ, स्वस्थ मानिसहरूको जीवनमा धेरै सपनाहरू हुन्छन् तर अस्वस्थ वा रोगी मानिसको एउटैमात्र सपना हुन्छ, कसरी पहिलेजस्तै स्वस्थ हुने ?

नयाँ नयाँखोज, अनुसन्धान तथा सूचना प्रवाहले गर्दा मानिसको ज्ञानको दायरा दिनानुदिन बढ्दै गएको छ । यसरी मानिसको चेतनाको स्तर पहिले भन्दा बढेका कारण मानिसले आफ्नो जीवनलाई अझ सहज र परिष्कृत बनाउँदै जानुपर्ने हो । तर स्वास्थ्यका मामलामा यस्तो पाइँदैन । दुनियाँमा नै डरलाग्दो किसिमले अस्वस्थ मानिसहरूको संख्या बढिरहेको छ । तीमध्ये पनि दीर्घरोगले नै सताइनेहरूको संख्या अस्वाभाविक देखिन्छ ।

कोभिड संक्रमणले गाँजेको वर्तमान परिप्रेक्ष्यमा धेरैलाई लाग्दो हो, अहिलेको सबभन्दा घातक रोग नै कोभिड–१९ संक्रमण हो रयो भन्दा ठूलो स्वास्थ्य समस्या केही छैन । तर विश्व स्वास्थ्य संगठनकै पछिल्लो तथ्यांक हेर्ने हो भने मुटुसम्बन्धी रोगका कारण मात्र हरेक वर्ष १ करोड ४८ लाख मानिसको ज्यान जाने गरेको छ र यो संख्या बढ्दो क्रममा रहेको छ । यो संख्या कोभिड–१९ संक्रमणको सबैभन्दा भयावह अवस्था रहेको एक वर्ष भित्रको मृत्युको झण्डै पाँच गुणा बढी हो । अझ कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरूको ठूलोसंख्या दीर्घरोगीहरू नै भएको भन्ने धेरैतथ्यहरू पनि बाहिर आएका छन् । यो त पछिल्ला तथ्यांकहरूको सामान्य विश्लेषण मात्र हो । वास्तविक समस्या तपाईँ हामीले सोचेभन्दा भयावह हुन लागिसकेको यस सम्बन्धी विज्ञहरूले बताउने गरेका छन् । दीर्घरोगको समस्याको दर हेर्दा अबको विश्वले यसका कारण कति ठूलो मूल्य चुकाउनु पर्ने हो यसै भन्न सकिने अवस्था छैन ।

अहिलेको समयमा तपाईँ हामीले देख्ने–सुन्ने गरेका धेरैजसो अस्वभाविक मृत्युहरूमा यस्तै नसर्ने तथा दीर्घरोगहरूको नाम जोडिएको पाइन्छ । सामाजिक सञ्जालहरू तथा चल्तीका अन्य सञ्चारमाध्यमहरूबाट पनि यो कुरा प्रष्ट हुन्छ । तर पनि मानिसहरू किन बेलैमा सचेत बन्नका लागि तयार छैनन् त ?
यसैसन्दर्भमा यहाँ महाभारत महाकाव्यमा उल्लिखित एउटा प्रसंग जोड्नु मनासिव देख्दछु । युधिष्ठिरलाई यक्षले विभिन्न प्रश्नहरू सोध्ने क्रममा एउटा प्रश्न यस्तो हुन्छ, ‘संसारको सबभन्दा आश्चर्य के हो ?’ यस प्रश्नमा युधिष्ठिरको जवाफ हुन्छ, ‘एकपछिअर्को गर्दै मानिसहरू मरिरहेको देख्दा–देख्दै पनि मानिसले आफ्नो पालो पनि आउन सक्छ भन्ने नसोच्नु नै संसारको सबभन्दा ठूलो आश्चर्य हो । ‘वास्तवमा तपाईँ हाम्रो वरिपरि देखिने यथार्थ पनि योभन्दा धेरै फरक छैन । यो प्रसंग दीर्घरोगले सताइएका धेरै ठूलो संख्याका मानिसहरू र उनीहरूको असामयिक मृत्युलाई देख्दा पनि दीर्घरोग देखिइ नसकेका मानिसहरूले खासै ठूलो चिन्ता वा डर नलिनुसँग पनि मिल्न जान्छ ।

स्वास्थ्यका मुख्य तीन आयामहरू बचाउ, निदान र उपचार हुन् । यी तीनमध्ये सबभन्दा सरल, सहज र भरपर्दो चाहिँ बचाउ नै हो । जसले आफूलाई दीर्घरोगहरूबाट बेलामै बचाउन सक्यो अबको समयमा स्वास्थ्का लागि सफल व्यक्ति पनि त्यही नै ठहरिन्छ । स्वस्थ रहनु तथा रोगमुक्त रहनु सबैको चाहना हुन्छ । वास्तवमा कोही पनि त्यस्ता व्यक्ति हुँदैनन् जो अस्वस्थता वा रोगको चाहना राखून् । तर पनि वास्तविकता केहो भने चाहना राख्दैमा मात्र कुनै पनि कुरा प्राप्त हुन सक्दैन । केही हासिल गर्नलाई सोही अनुसारको अभ्यास पनि गर्नुपर्छ । दीर्घरोगहरूबाट बच्न पनि आफूलाई त्यसै अनुकूल स्वस्थ राख्ने कुरामा अभ्यस्त हुनु जरुरी छ । यहाँ केही त्यस्तै अभ्यासहरूको चर्चा गरिएको छः

क) खानपानमा स्वस्थता
अहिलेको समयमा प्राकृतिक तवरको खानपान गर्नसक्नु धेरै ठूलो चुनौतीको कुरा भएको छ । दैनिक सेवन गरिने अन्न, तरकारी, फलफूल, पशुजन्य उत्पादनहरू, होटलका खानेकुराहरू, प्याकेट वा कुनै बन्द भाँडोमा राखेर बेचिने खानेकुराहरू मात्र होइनन्, बाँच्ने आधारकै रूपमा चिनिएका हावा रपानी समेत धेरै किसिमले अस्वस्थ र हानिकारक भइरहेका छन् । यसका कारण एक त शरीरले आवश्यक तत्वहरूको मात्रा प्राप्त गर्न सकिरहेको छैन भने अर्कातिर शरीरलाई आवश्यक नहुने र उल्टो असर गर्ने रसायनहरू, मिसावटहरू, औषधि तथा विषादीका अवशेषहरू आदि शरीरमा जम्मा भइरहेका छन्। यो नै शरीरमा दीर्घरोगले जरा गाड्ने एउटा प्रमुख कारण पनि हो । यस्तो डरलाग्दो समस्याको उत्तम विकल्पका रुपमा सकेसम्म अग्र्यानिक उत्पादनहरूको सेवन गर्ने तथा शरीरको निर्विषीकीकरण, आन्तरिक शुद्धीकरण तथा रोगप्रतिरोधी क्षमता बढाउने सामथ्र्य राख्ने वैज्ञानिकरूपमा प्रमाणित जडीबुटीजन्य उत्पादनहरूको नियमित सेवन गर्न सकिन्छ । यसबाहेक पिउनेपानीलाई उच्चतम्रुपमा शुद्धीकरण गर्ने आधुनिक प्रविधियुक्त उपकरणहरू तथा तरकारी, फलफुलहरू सेवन गर्नुअघि निर्विषीकीकरण गर्ने (विषादीमुक्त बनाउने) प्रविधिहरूको प्रयोग गर्न पनि सकिन्छ । यस्ता उपायहरू समयमै अपनाउन सक्ने हो भने भविष्यमा दीर्घरोगीको सूचीमा आफ्नो नाम पार्नुपर्ने छैन । यस्ता उपायहरूका लागि अहिले केही मूल्य व्यहोर्ने हो भने पछिगएर नसोचेको मूल्य चुकाउनु पर्ने हुन्न ।

ख) शारीरिक सक्रियता
अहिलेका मानिसहरु बसीबसी वा दुःखको काम नगरी खान पाइयो भने त्यसलाई सुख मान्ने गर्दछन् । हो तत्काल हेर्दा त्यो सुखनै देखिन्छ । तर दीर्घकालमा हेर्ने हो भने शारीरिक र मानसिक दुःखका कारण यही नै बनिदिन्छ । कतिपयको भनाइ पाइन्छ, खानपानमा स्वस्थता अपनाएमा सधैं सबैकिसिमले स्वस्थ रहन सकिन्छ । तर यो आंशिक रुपमा मात्र सत्य हो । खानपानका कारण मात्र मानिस स्वस्थ र अस्वस्थ हुने होइन । प्राकृतिक तवरको स्वास्थ्य हासिल गर्नलाई मानिसको जीवनशैली पनि प्रकृतिमैत्री हुनु जरुरी छ । सुख वा विलासिताको नाममा अहिलेका मानिसहरू शारीरिक सक्रियतालाई कम गर्दै गइरहेका छन् । एक त मानिसहरू खानपानको मामलामा स्वास्थ्यलाई नै परवाह नगरिरहेका देखिन्छन् भने त्यसमाथि शारीरिक सक्रियतामा पनि कमि गर्दै जा“दा अनेक प्रकारका दीर्घरोगहरूको जोखिम अझै धेरै गुणाले बढेको पाइन्छ । प्राकृतिकरुपमा नै स्वस्थता हासिल गर्ने हो भने शरीरलाई चलायमान बनाइराख्नु पनि अतिनै जरुरी छ । जसरी बगिरहने पानीमा सजिलै लेउ लाग्न पाउँदैन, यस्तै शारीरिकरुपमा सक्रिय मानिसहरू पनि दीर्घरोगहरूको चपेटामा पर्ने सम्भावना कम हुन्छ । दैनिकरुपमा खानपान आवश्यक छ भने शरीरलाई चलायमान बनाएर खानेकुरालाई अधिकतमरुपमा शरीरमा परिचालन गर्नु पनि त्यति नै जरुरी छ । नियमित हिँडाइ, योग, शारीरिक कसरतको नियमित अभ्यास अदिले गर्दा मानिसहरू दीर्घरोगहरू मात्र होइन, सम्भावित धेरै स्वास्थ्यसमस्याबाट टाढै रहन सक्दछन् ।

ग) शारीरिक र मानसिक आराम
खानपान तथा शारीरिक सक्रियतालाई विशेष ध्यान दिनका साथमा शारीरिक तथा मानसिक आराम पनि दीर्घरोगबाट बच्नका लागि अतिनै महत्वपूर्ण छ । खानपानबाट तथा शारीरिक सक्रियताबाट अधिकतम लाभ उठाउनका लागि पनि शारीरिक र मानसिक आरामको जरुरत पर्दछ । प्राकृतिकरुपमा हेर्ने हो भने पनि हरेक जीवजन्तुले अनुशासनपूर्वक निश्चित समयको आराम लिइरहेका हुन्छन् । तर वर्तमान विश्वका मानिसहरुमा बढ्दो भागदौड र व्यस्तताले गर्दा आराम तथा निद्राको समस्या बढिरहेको छ । यसैकारणले धेरै मानिसमा मानसिक प्रकृतिका दीर्घरोगहरू समेत देखा परिरहेका छन् । स्वास्थ्यमैत्री खानपान व्यवस्थापनका साथमा शारीरिक सक्रियता बढाएर आरामको समय पनि व्यवस्थापन गर्ने हो भने दीर्घरोगहरूको जालोमा पर्ने सम्भावना अत्यधिक न्यून रहन्छ ।

(लेखक मकवानपुर बहुमुखी क्याम्पसमा विज्ञान संकायका उपप्राध्यापक हुनुहुन्छ ।)