हेटौंडाः नेपाली काङ्ग्रेस मकवानपुर जिल्ला कार्य समितिको सभापति पदमा जयराम लामिछानेले उम्मेद्वारी घोषणा गर्नुभएको छ । बुधबार हेटौंडा–२, पल्पसारोडमा सम्पर्क कार्यालयको उद्घाटन गर्नुहुँदै लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
लामिछानेले काङ्ग्रेसलाई गतिशील, उर्जावान बनाउन र नयाँ कार्यदिशा दिन नयाँ कार्यक्रमसहित कार्यकर्ता प्रशिक्षणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता अघि सार्नुभयोे । विधि, विधान र नीति सम्मत् पार्टी सञ्चालन र पार्टी भित्र कार्यकर्ताको मुल्याङ्कन मापदण्डको विकास गर्ने, नेपाली काङ्ग्रेसका अग्रजको सम्मान र युवा पुस्तालाई प्रोत्साहन गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
लामिछानेले जिल्ला अधिवेशन पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा रहेको उल्लेख गर्नुहुँदै निर्वाचनको परिमाण आएको भोलिपल्ट सम्पूर्ण नेताहरुसँग कुनै प्रतिस्पर्धाको भावना नराखी सँगै मिलेर अगाडि जाने बताउनुभयो । नेपाली काङ्ग्रेसलाई व्यवस्थित गरेर काङ्ग्रेसप्रति जनताको आकर्षण गरेर अब आउने स्थानीय तहको निर्वाचन लगायत प्रदेश र संघीय निर्वाचनमा पनि सबै एक भएर जाने उहाँको भनाई छ । नेपाली काङग्रेसका क्रियाशील सदस्यले असल, सक्षम नेतृत्व छान्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।
यसअघि काङ्ग्रेस मकवानपुर जिल्ला सभापति पदमा काङ्ग्रेस मकवानपुरका सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरका निवर्तमान सभापति आनन्दराम पराजुलीले उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ ।