अक्लेशलाई विदाई गर्ने क्रममा अक्लेशका बुबासहित हेटौंडा उपमहानगरपालिकाका मेयर र वडाध्यक्ष ।

हेटौंडाः हेटौंडा–९ स्थित मानवसेवा आश्रमले बेवारिसे अवस्थामा उद्दार गरेको एकजनालाई पारिवारिक पुनर्मिलन गरेको छ । गत मंसिर १ गते हेटौंडा–१५ बाट उद्दार गरिएका अक्लेश रामलाई मंगलबार परिवारमा पुनर्मिलन गराएको हो ।

अक्लेशलाई शारीरिक तथा मानसिक रुपमा विक्षिप्त अवस्थामा उद्दार गरिएको मानवसेवा आश्रम मकवानपुरका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । उद्दार गरिएका अक्लेशलाई परामर्श तथा औषधी उपचार गरिरहेको थियो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, हेटौंडा–९ का वडाध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको उपस्थितिमा पारिवारिक पुनर्मिलन गरिएको हो ।

छिमेकी देश भारतबाट काम गर्न नेपाल आएपछि उपचारकै क्रममा सडकपेटीमा आएको अक्लेशले बताएको मानवसेवा आश्रमका अभियन्ता पौडेलले जानकारी दिनुभयो । परिवारबाट सम्पर्कविहिन भएपछि परिवारका सदस्यले अक्लेश हराएको भनी प्रहरीलाई उजुरी समेत गरेको जनाएको छ । छोरा भेट्ने आशा समेत मारिसकेका अक्लेशका बुबाले अक्लेशलाई भेटेपछि खुसी व्यक्त गरेका छन् । अक्लेशलाई लिन उनका बुबा मानवसेवा आश्रम हेटौंडा नै आइपुग्नु भएको हो ।