हेटौंडाः चार वर्षे कार्यकाल समाप्त भई रिक्त हुने १९ जना राष्ट्रियसभा सदस्यका लागि बुधबार मतदान भएको छ । ७ वटै प्रदेशमा भएको मतदानबाट सत्तारुढ गठबन्धनका विभिन्न दलबाट १८ जना र नेकपा एमालेका एक जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो)ले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा राप्रपा, नेमकिपालगायत अन्य केही साना दलहरुले छुट्टै उम्मेदवारी दिएका थिए ।

बुधबार सातै प्रदेशमा भएको निर्वाचनमा प्रदेश १ बाट अपांगता वा अल्पसंख्यकतर्फ नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा, अन्यतर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत र महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई विजयी भएका छन् । मधेश प्रदेशबाट महिलातर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्यतर्फ जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी विजयी भएका छन् ।

बागमती प्रदेशबाट महिलातर्फ नेकपा एकीककृत समाजवादीकी गोमादेवी तिमल्सिना र अन्यतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भए । गण्डकी प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त, अन्यतर्फ नेकपा माओवादी केन्द्रका सुरेश आलेमगर र दलिततर्फ माओवादी केन्द्रकै भुवनबहादुर सुनार विजयी भएका छन् ।

लुम्बिनी प्रदेशबाट अन्यतर्फ नेपाली कांग्रेसका युवराज शर्मा, महिलातर्फ एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा विजयी भए । कर्णाली प्रदेशबाट अन्ततर्फ एकीकृत समाजवादीका उदय बोहोरा, अपांग/आदिवासीतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र महिलातर्फ नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ विजयी भएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशबाट अन्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) र दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनबाट राष्ट्रियसभामा पदावधि समाप्त हुन लागेका १९ जना सदस्यको ठाउँमा त्यति नै संख्यामा सदस्य निर्वाचित भएका छन् । विभिन्न प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेकामध्ये रिक्त हुन जाने महिलाबाट ७, दलितबाट ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समूहबाट ७ जना सदस्य निर्वाचित भएका हुन् । निर्वाचित नयाँ सदस्यहरूको कार्यकाल ६ वर्षको हुनेछ । राष्ट्रियसभाका एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको पदावधी आगामी फागुन २० गते सकिँदैछ ।

बुधबार निर्वाचितमध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए भने एक सिट नेकपा एमालेले रक्षा गरेको छ । प्रदेश १ बाट एकजना उम्मेदवारले एमालेबाट चुनाव जितेका हुन् । योसँगै एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाउन सफल भएको हो । बाँकी ७ सिट गुमाएको छ ।

एमालेले गुमाएको ७ सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । जसमध्ये कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सिट बढाएका छन् । राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ ।

यति हुँदा पनि राष्ट्रियसभाको ठूलो दल भने एमाले नै कायम रहनेछ । राष्ट्रियसभामा २४ सिटमध्ये ७ सिट गुमाएको एमालेको अब १७ सिट भएको छ । राष्ट्रियसभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । बुधबार भएको निर्वाचनमा जितसँगै उसको १५ सिट पुगेको छ । तेस्रो ठूलो दल रहेको कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८, जसपाको ३ सिट र राजमोको १ सिट हुनेछ ।