हेटौंडाः हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्ट क्षेत्रभित्र प्यारापिट निर्माण कार्य सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार प्यारापिटको शिलान्यास गर्नु भएको छ । प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
हेटौंडा नगर खेलकुद विकास समितिको अगुवाइमा ७ सदस्यीय भलिबल प्यारापिट निर्माण उपभोक्ता समिति गठन भई निर्माण कार्य सुरु गरिएको जनाइएको छ । ३० मिटर लम्बाई र ३.६० मिटर चौडाईको प्यारापिट निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्यारापिट निर्माणका लागि उपभोक्ता समितिको ४ लाख ४८ हजार रुपैयाँ लागत सहभागिता रहने छ । प्यारापिटसँगै भलिबल कोर्टको चारैतिर तारजाली लगाउने काम पनि सोही बजेटबाट हुने उहाँले बताउनुभयो ।
प्यारापिट निर्माणको लागि नगर खेलकुद विकास समितिका सदस्य बिक्रम लामिछानेको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति समेत निर्माण गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले बताउनुभयो । प्यारापिट शिलान्यास कार्यक्रममा मकवानपुुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको पनि उपस्थिति रहेको थियो ।