हेटौंडाः लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी–२ नेपालको एरिया नम्बर ३ अन्तर्गत रहेका चार वटा क्लबहरु लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन समृद्धि, लायन्स क्लब अफ चितवन स्पन्दन र लायन्स क्लब अफ गैंडाकोट उत्कृष्टले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
नवलपुरको गैंडाकोट नगरपालिका–३ तातेवास विन्दापुरमा रहेको पन्चकन्या आधारभूत विद्यालयलाई लायन्स क्लबले सात लाख बराबरको सहयोग गरेका हुन् । क्लबले निर्माण गरिदिएको एक कोठे भवनको उद्घाटन समेत गरिएको छ । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी–२ नेपालका डिस्ट्रिक्ट गर्भनर राम प्रसाद भट्ट, नायक पल शाहको पनि उपस्थिति रहेको थियो ।
विद्यालयको भवन निर्माण, जीर्ण अवस्थामा रहेका विद्यालयको भौतिक संरचनाको पुनर्निर्माणका लागि लायन्स क्लबले करिब सात लाख रुपैयाँ खर्च गरेको लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले जानकारी दिनुभयो । लायन्स क्लबले विद्यार्थीलाई तीस हजार रुपैयाँ बराबरको स्वेटर र शैक्षिक सामग्री पनि सहयोग गरेको छ ।
अध्यक्ष डा. सापकोटाले लायन्स क्लबहरु मार्फत यसै वर्ष विद्यालयमा ६० हजार रुपैयाँ लगानीमा खानेपानी ट्यांकीको व्यवस्थापन, खेलमैदान लगायतका पूर्वाधार निर्माण गर्ने गरी विद्यालय व्यवस्थापन समिति र स्थानीय तहसँग सहकार्य भएको र डिस्ट्रिक्ट ३२५ बी–२ नेपालको लायन्स भिलेज प्रोजेक्ट अनुसार विद्यालयमै संस्थाका सबै कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।
२०४६ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ५ सम्म छात्र १७ र छात्र १८ गरी जम्मा ३५ जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयकी प्रधानाध्यापक राधिका भण्डारी घिमिरेले जानकारी दिनुभयो ।