हेटौंडाः मकवानपुर जिल्लाका विद्यालय शिक्षकहरुको सहभागिता रहेको जिल्लास्तरीय शिक्षक नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा बुधबार प्रतियोगिता सुरु भएको हो ।

हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा प्रतियोगिता सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र मावि बकैयाले जीत हात पारेको छ । महेन्द्र माविले भानु मावि मकवानपुरगढीलाई २५–१७ र २५–१५ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । प्रतियोगितामा १९ वटा विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम मदन भण्डारी स्पोर्टस् एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यमा भएको हो । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाको पनि आतिथ्य रहेको थियो ।

कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेका बेला न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई प्रतियोगिता आयोजना गरिएको आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने अन्य २ टिमले ५/५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।