‘घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।’ राज्य सञ्चालन गर्ने क्रममा शासकदेखि नागरिकले पालना गर्नुपर्ने आचारसंहिताकै रुपमा पृथ्वीनारायण शाहले दिएका उपदेशहरु आज पनि उत्तिकै सान्दर्भिक र आवश्यक छन् । राज्य सञ्चालनका क्रममा सुशासनप्रति मननीय दिव्य उपदेश दिने व्यक्तित्वलाई पछिल्लो समय बिर्सन बाध्य बनाइँदै गएको छ । राष्ट्र एकीकरण गर्ने शासकलाई खुलेर प्रशंसा गर्दा पनि डर मान्नुपर्ने अवस्था केही वर्ष अघिसम्म थियो । संकीर्ण मानसिकताबाट समाजअघि बढ्दै आएको छ । आफ्नै जन्मदातालाई सम्झन पनि कसैको अनुमति आवश्यक पर्ने वा डराउनु पर्ने अवस्था किन बनेको छ ? यसले नेपाली राष्ट्रियतामाथि गम्भीर आघात गरेको छैन र ?
पृथ्वीनारायण शाहको जन्मदिनलाई उत्सवका रुपमा मनाउनुपर्ने हो । देश एकीकरण गर्नु चानचुने कुरा होइन । आज उनकै योगदान र वीरताका कारण नेपालको अस्तित्व कायम छ । यो यथार्थलाई बिर्सन सकिँदैन । नेपाल एकीकरण र नेपालको अस्तित्व राख्ने क्रममा पृथ्वीनारायणको योगदान पुस्तौंपुस्तासम्म हस्तान्तरण हुनुपर्दछ । पछिल्लो समय इतिहासलाई लुकाउने वा बिर्साउने प्रयास भइरहेको छ । नेपालका सपुतप्रतिको घोर अन्याय हो । मुलुक भ्रष्टाचारको दलदलमा फस्दै गएको अवस्थामा पृथ्वीनारायणको दूरदर्शिताका विषयमा छलफल र बहस हुनु आवश्यक छ । नेपाली समाज विकास र सुशासनप्रति पृथ्वीनारायण शाह निकै सचेत थिए भन्ने कुरा उनका वाणीहरुले नै प्रमाणित गरेका छन् । राष्ट्रिय एकताका धरोहर शाहलाई राजा भन्दा पनि देश निर्माताका रुपमा सम्झनु पर्दछ ।
पृथ्वीनारायण विशाल नेपाल निर्माणको सपना देख्ने एक राजामात्र नभई युगपुरुष पनि हुन् । शाहको योगदान नेपालीका लागि आदर्श हो । उनको जन्मदिनलाई भन्दा पनि राष्ट्र एकीकरणकर्ताको जन्मदिनको रुपमा पछिल्लो पुस्तालाई जानकारी दिन आवश्यक छ । विक्रम सम्वत् १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा स–साना राज्यलाई जोडेर विस्तारका क्रममा नेपाल एकीकरण गरेका हुन् । हुन त त्यतिबेला उनले एकीकरण गर्ने भन्दा पनि साना राज्यमाथि हैकम जमाउने प्रयास गरेका हुन् । उनको शासकीय मोहले गर्दा नै भए पनि आज नेपालको समग्र अस्तित्व कायम हुनसकेको छ । एकीकरण अभियानमा उनका धेरै कमजोरी भएका छन्, तर योगदानका कारण कमजोरी गौण बनेका छन् ।
पृथ्वीनारायणको योगदान र शासन कौशलता आजका सत्ता सञ्चालकहरुलाई पथप्रदर्शन हुन् । तर वर्गीय दुश्मनका रुपमा लिने चिन्तनले इतिहासमाथि कालो पोत्ने प्रयास हुँदै आएका छन् । राष्ट्रियता, परराष्ट्र सम्बन्ध, सुशासन र नागरिक अधिकारका क्षेत्रमा शाहको जति दृष्टिकोण आजका शासकमा भइदिए नेपालीहरुका सुखका दिन नजिकै हुनेथिए । तर सत्तामोहमा डुब्ने र सुखभोगमा रमाउन भ्रष्टाचारलाई संस्थागत गर्ने नेतृत्वबाट शाहका उपदेशको पालनाको चाहना राख्नु दिवासपनामात्र हुनेछ । पुस २७ नेपाल देशका लागि युगपुरुषको उदयको दिन हो । न्याय मर्दै गएको, भ्रष्टाचार संस्थागत भएको, नातावाद र कृपावाद बढेको र विदेशीसामु घुँडा टेक्ने प्रवृत्तिविरुद्ध उभिने आँट र साहस बटुल्नकै लागि पनि राष्ट्रनिर्मातालाई एकपटक सम्झनै पर्दछ ।