हेटौंडाः नेपाल मानव अधिकार वर्ष पुस्तक—२०२२ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सहभागीहरुले गाउँगाउँ/टोलटोलमा बलात्कार र लिभिङटुगेदर सम्बन्धी सचेतना जगाए यस्ता घटना न्यूनीकरण हुने बताइएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको पूर्वसमीक्षा कार्यक्रममा यसले मानव अधिकार उल्लङ्घनका घटना बढेको भन्दै सचेतना जरुरी रहेको बताइएको हो ।
बालविवाहले बलात्कार र बहुविवाहले लिभिङटुगेदरका घटना मौलाएको कार्यक्रमका सहभागीहरुले उल्लेख गरेका छन् । बलात्कार र लिभिङटुगेदर बढ्न नदिन कानुनी संरचनालाई नै परिमार्जित हुनुपर्ने सहभागीहरुको सुझाव छ । दिनदिनै बढ्दै गएको घरेलु हिंसाका हिस्सेदार नै लिभिङटुगेदर हुन् । यस्ता विभिन्न सामाजिक विकृतिले नै मानवअधिकार उल्लङ्घन तथा जबरजस्ती करणी हुने गरेको इन्सेकको तथ्यांकले पुष्टि गरेको छ ।
मकवानपुरमा मानवअधिकार उल्लङ्घन तथा जबरजस्ती करणीका ७८ वटा घटना इन्सेकमा दर्ता भएका छन् । जसमा गैरराज्यबाट नै मानिस पीडित भएको इन्सेकले जनाएको छ । ७३ जना महिला र ५ जना पुरुष पीडित भएको घटना दर्ता भएका हुन् । ३४ जना बालिका बालअधिकारबाट वञ्चित हुँदा २८ जना बलात्कार, ५ जना यौन दुव्र्यवहार र एक जना बेचबिखनबाट पीडित भएका छन् । सोही अवधिमा १० वटा हत्याका घटना भएका छन् । जसमा ५ जना महिला र ४ जना पुरुष छन् । यस्तै एक कुटपिटको घटना पनि दर्ता भएको इन्सेकले जनाएको छ । परिवारजनबाट ७ जना बालिकासहित १३ वटा बलात्कारका घटना र पाँच वटा हत्याको घटना भएको तथ्यांकले पुष्टि गरेको छ ।
गतवर्ष सन् २०२० मा मकवानपुरमा ६२ वटा मानवअधिकार उल्लङ्घन तथा जबरजस्ती करणीका घटनामा ५० जना महिला पीडित भएका थिए । यस्तै, १२ जना पुरुष र एक अल्पसंख्यक महिला पीडित भएको तथ्यांक छ । गतवर्षको तथ्यांकको तुलनामा यसवर्ष मानवअधिकार उल्लङ्घन तथा जबरजस्तीका घटना वृद्घि भएको देखिन्छ । ६ जना महिला र ४ जना पुरुष गरी १० जनाको हत्या, एक पुरुष घाइते, २८ वटा बलात्कार, ५ वटा यौन दुव्र्यवहार र एक जना महिलालाई बेचबिखन तथा ओसारपसारको प्रयासका घटनाहरु गैरराज्यबाट भएका छन् ।
जेठ १५ गते १२ वर्षीय एक बालिका परिवारजनबाट नै बलात्कृत भइन् । बलात्कारको आरोपमा हेटौंडा—६ का २८ वर्षीय मामालाई प्रहरीले दुई दिनपछि गिरफ्तार गरेको थियो । जिल्ला न्यायाधीश कमलराज विष्टको कार्तिक १६ गते बसेको इजलासले अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ । यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नातामा दाजु पर्ने २१ वर्षीय युवकलाई पक्राउ गरेको थियो ।
यी मानवअधिकार उल्लङ्घनका घटनाका उदाहरणमात्र हुन् । ३ वटा भौतिक अपाङ्ग बलात्कारका घटना अभिलेख रहेको इन्सेकले जनाएको छ । फागुन ७ गते यी घटनाका विशेष टिपोटसहितका पुस्तक प्रकाशित हुने भएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, वरिष्ठ पत्रकार प्रताप विष्टलगायत मानवअधिकारकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।