हेटौंडाः ज्योति महिला कृषक समूहले बिहीबार अनुदानमा खरिद बाख्राको पशुधन बिमा गरेको छ । हेटौंडा–१८, हर्नामाडीस्थित गुम्बाडाँडा टोल कार्यक्षेत्र रहेको समूहले आफ्ना सदस्य कृषक महिलाले पालन गरेका २२ वटा बाख्राको पशुधन बिमा गरेको हो ।
समूहकी अध्यक्ष भवानी बञ्जाराले प्रत्येक बाख्राको दुई सय रुपैयाँका दरले पशुधन बिमा गरिएको जानकारी दिनुभयो । अध्यक्ष बञ्जराले स्थानीय जातका खरी र जमुनापारी जातका बाख्राको पशुधन बिमा गरिएको बताउनुभयो । हेटौंडा उपमहानगरपालिका र वडा कार्यालयबाट प्राप्त अनुदानमा आएका बाख्राको अनिवार्यरुपमा पशुधन बिमा आवश्यक पर्ने भएकाले एक वर्षका लागि पशुधन बिमा गरिएको उहाँको भनाई छ ।
समूहकी कोषाध्यक्ष भवानी सिलवालले प्रतिबाख्रा दुई सय रुपैयाँका दरले ४ हजार ४ सय रुपैयाँ बिमा कम्पनीलाई बुझाइएको बताउनुभयो । उहाँले हेटौंडामा शाखा रहेको प्रुडेन्सियल इन्सुरेन्स कम्पनीबाट पशुधन बिमा गराइएको जानकारी दिनुभयो ।
हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँले सरकारबाट दिइने अनुदानको व्यवस्थाले अहिले यस वडामा पनि कृषि तथा पशु पालनमा कृषकहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो । उहाँले हर्नामाडीलाई कृषि क्षेत्रमा अझै अब्बल बनाउन आवश्यक तयारी एवम् सहयोग गरिनेसमेत जानकारी दिनुभयो ।