गरिबीका कारण मानिसहरु लागूऔषध ओसारपसारमा संग्लन रहेको मकवानपुरका प्रहरी प्रमुखको दावीले नयाँ बहस सृजना गराइदिएको छ । लागूपदार्थ कारोबारदेखि उत्पादन र प्रयोग गर्ने मानिसहरुको आर्थिक अवस्था हेर्दा गरिबीमात्र कारण देखिँदैन । तर प्रमुख कारण भने गरिबी हो । कुनै एउटामात्रै कारणले मानिसहरुले अबैध पदार्थको कारोबार गरेका हुँदैनन् । नेपाली समाज नै गरिबीको चपेटामा छ । के सबै नै अबैध कारोबार गर्दछन् त ? अबैध हो भन्ने जान्दाजान्दै पनि विभिन्न कारणले मानिसहरु यस कार्यमा संलग्न हुने गरेको पाइन्छ । विशेषगरी छोटो समयमा धेरै पैसा कमाउने भएकाले मानिसहरु लागूऔषध कारोबारमा संलग्न हुने गरेको पाइन्छ ।

अबैध वा अनैतिक काम गर्न आर्थिक अवस्था प्रमुख हुने भए पनि सबै पक्ष होइन । सम्पन्न परिवारका सदस्य पनि लागूपदार्थ कारोबार तथा प्रयोगकर्ता छन् । व्यक्तिको मानसिकताका आधारमा उसले काम गर्ने गरेको हुन्छ । विगतमा गरिब, नराम्रो अनुहार भएकाहरुलाई सामाजिकरुपमा नै अनेक आरोप लगाउँदै लाञ्छित गरिन्थ्यो । आज गरिबीलाई लागूपदार्थ कारोबारीमा दर्ज गर्ने प्रयास भएको देखिन्छ । हुन पनि छिटो आम्दानी हुने र लामो सयमसम्म मिहिनेत गर्न नपर्ने भएपछि यस्तो काम गर्नेहरुको संख्या बढ्दै गएको छ । कानुनविपरितका काम गर्दा हुने दण्ड सजायबारे जानकारी नभएको वर्ग प्रयोग हुने गरेका छन् । गरिब परिवारका सदस्यहरुमार्फत् यस्तो धन्दा गराउने समूह भने पानीमाथिको ओभानो बन्दै आएको छ ।

प्रहरीको कारबाहीमा परेकाहरुको आधारमा गरिबीका कारण धेरै युवाहरु लागूपदार्थ ओसारपसारमा उपयोग भएका छन् । तर धन कमाउने मुख्य योजनाकार विश्वका धनीभित्रकै हुनसक्छ । धनाढ्यहरुका लागि गरिबी धन कमाउने माध्यम बनेको छ । अबैध पदार्थको उत्पादन र ओसारपसार गराउने मुख्य गिरोह भने प्रहरीभन्दा जहिले पनि टाढा रहँदै आएको छ । बाध्यतामा परेकाहरु पक्राउ पर्ने र सजाय भोग्न बाध्य छन् । मकवानपुरमा लागूपदार्थ ओसारपसार तथा बिक्री र प्रयोग गर्नेहरु दैनिक पक्राउ पर्ने गरेका छन् । देशकै केन्द्रका रुपमा मकवानपुर देखिएको छ । प्रहरीले गरेको कारबाही हेर्दा कारोबारी नै सकिएको जस्तो लाग्दछ, तर धन्दा दैनिक बढ्दै गएको अवस्था छ ।

लागूपदार्थ गाँजाका लागि मकवानपुर केन्द्रजस्तै बनेको छ । मकवानपुरमा प्रहरीले प्रत्येक वर्ष ठूलो क्षेत्रफलको गाँजा फडानी गर्दै आएको छ । त्यस्तै कारवाही पनि गरेको देखिन्छ, तर किन उत्पादन, बिक्री वितरण र ओसारपसारमा कमी हुन सकेको छैन ? अबैध कारोबारबाट छिट्टै धनी हुने र सजिलै आम्दानी गर्ने भएपछि जोखिम उठाउन युवाहरु अग्रसर हुने गरेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको हालसम्म विभिन्न लागूऔषधसहित ६९ जनालाई पक्राउ गरेको छ । पछिल्लो एक महिनामा मात्र २३ जना पक्राउ पर्नुले कारोबार अत्यन्त तिब्र गतिमा भएको पुष्टि गर्दछ । अबैध कारोबार नियन्त्रणका लागि प्रहरीसँगै सर्वसाधारणको भूमिका प्रभावकारी हुनुपर्दछ । गरिबी अवस्थालाई देखाएरमात्र नियन्त्रण हुन सक्दैन ।