रगत संकलन गर्ने व्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरिँदै ।

हेटौंडाः सोमबार हेटौंडामा ३६ जनाले रक्तदान गरेका छन् । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको प्रथम बैठकको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन् ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३ जना महिला र ३३ जना पुरुषले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु प्रसाद रिमालले जानकारी दिनुभयो । कार्यक्रम संयोजक तथा बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रदेश सभापति बानियाँले काँगे्रसले कुनैपनि कार्यको सुरुवात गर्दा दान तथा सहयोग जस्ता शुभ काम गरेर सुरुवात गर्ने भएकाले प्रदेश समितिको पहिलो बैठक बस्नुअघि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कम्युनिष्टहरुले जहिले पनि जनतालाई लुट्ने काम गर्ने गरेको बताउनुहुँदै उहाँले काँग्रेस जनतालाई हरेक प्रकारले सहयोग गर्ने पार्टी रहेको दावी गर्नुभयो । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिको प्रथम बैठक अहिले १ बजेबाट नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा बस्दैछ ।