सहकारीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु ।

हेटौंडाः प्रदेशस्तरीय कार्यक्षेत्र भएको नुवाकोट जिल्लाकै पहिलो सहकारी गोसाईकुण्ड–चौतारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा ईन्द्र बहादुर पण्डित निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट पण्डितको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो । सहकारीको उपाध्यक्षमा बाबुराम लामिछाने, सचिवमा सुकुमान डंगोल, कोषाध्यक्षमा दीपकराज सिलवाल चयन हुनुभएको छ भने सदस्यमा गंगालाल श्रेष्ठ, राजेन्द्र प्रसाद पाण्डे, राजेन्द्र बहादुर प्याकुरेल, सन्तोष उप्रेती, लक्ष्मी प्रधान चयन हुनुभएको छ । यस्तै लेखा समितिको संयोजकमा ध्रुव प्रसाद अर्याल, सदस्यमा ऋषिप्रसाद रिजाल र विश्वराज भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिले सहकारीको सेवा केन्द्र थप गर्ने, ग्रामीण भेग लक्षित गरी सेवाहरु प्रदान गर्ने, सदस्यता विस्तार गर्ने, संस्थागत सुशासनमा बृद्धि गर्ने, कार्य क्षमता बढाउने, कार्यक्षेत्र रसुवा तथा धादिङसहित थप जिल्लामा विस्तार गर्ने लक्ष्य लिएको सचिव सुकुमान डंगोलले जानकारी दिनुभयो । यस्तै सहकारीको उद्देश्यअनुरुप कार्य गर्ने क्षेत्रहरु थप गर्ने, ऋण असुलीमा जोड दिने, महिला सशक्तीकरण, वित्तीय पहुँच बृद्धि गर्ने, लगानीका बहुक्षेत्रको पहिचान गर्ने कार्ययोजना रहेको सचिब डंगोलले बताउनु भयो ।

२०५८ सालमा स्थापित गोसाईकुण्ड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र २०६६ सालमा स्थापित चौतारी बचत तथा ऋण सहकारी संस्थाबीच २०७७ सालमा एकीकरण गर्ने निर्णय भएको थियो । सहकारी एकीकरणपछिको पहिलो साधारणसभा भएको हो । साधारणसभामा अध्यक्ष ईन्द्रबहादुर पण्डितले आर्थिक वर्ष २०७७/७८ को प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पेश गर्नु भयो । सहकारीका कोषाध्यक्ष दीपकराज सिलवालले आर्थिक वर्ष २०७७/७८ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्नु भयो । सहकारीका लेखा समिति संयोजक धुव्रप्रसाद अर्यालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभयो ।

सहकारीको सेयर सदस्य ३ हजार ३ सय ४५ जना छन् भने शेयर पुँजी ३ करोड १२ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल कारोबार २७ करोड रहेको छ । साधारणसभामा नुवाकोट उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटा, जिल्ला सहकारी संघ नुवाकोटका लेखा सुपरीवेक्षण समिति नारायण श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक विदुर शाखाका प्रमुख प्रदीप अर्यालले शुभकामना व्यक्त गर्नु भयो ।