वाद्र्धक वाङ्मय सम्मान ग्रहण गर्नुहुँदै नवराज शर्मा तिमल्सिना ।

हेटौंडाः बुढ्यौली साहित्य समाज मकवानपुरले वाद्र्धक्य वाङ्मय सम्मानबाट नवराज शर्मा तिमल्सिनालाई २५ हजार नगदसहित सम्मान गरेको छ । शनिबार हेटौंडा–४ स्थित साहित्य संगमको सभाकक्षमा भएको कार्यक्रममा तिमल्सिनालाई सम्मान गरिएको हो । यस्तै बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्वर्गीय पीताको नाममा स्थापना गर्नुभएको तोयानाथ रिजाल स्मृति सम्मानबाट नवलपरासीका दुर्गा क्षेत्रीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । दुवै सम्मान पहिलो पटक प्रदान गरिएको हो ।

बुढ्यौली साहित्यका अभियन्ता कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) को प्रायोजनमा वाद्र्धक वाङ्मय सम्मानको स्थापना गरिएको हो । प्रथम वाद्र्धक वाङ्मय सम्मान प्राप्त गर्नुहुने तिमल्सिना नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष समेत हुनुहुन्छ भने उहाँका साहित्यिक कृति समेत प्रकाशित छन् । यस्तै तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित हुनुहुने दुर्गा क्षेत्री शारीरिक रुपमा अशक्त हुनुका बाबजुद साहित्यमा क्रियाशील हुनुहुन्छ । कार्यक्रममा दुर्गा क्षेत्री आफैं उपस्थित हुन नसक्नुहुने भएपछि उहाँका छोरा अंकित क्षेत्रीले पुरस्कार ग्रहण गर्नुभयो ।

बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको अध्यक्षता तथा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । बुढ्यौली साहित्य समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बुढ्यौली साहित्यका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै सीता शर्मा रिजालले पनि एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै माधव रश्मि भण्डारीले ५ हजार रुपैयाँ, विन्दुगोपाल गोर्खालीले ५ हजार रुपैयाँ, सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईले ५ हजार रुपैयाँ सहयोग गर्नुभएको बुढ्यौली साहित्य समाज मकवानपुरका सचिव राजकुमार लामिछानेले जानकारी दिनुभएको छ ।

कार्यक्रममा बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डेसहित बुढ्यौली साहित्य अभियानमा आवद्ध चितवन, भक्तपुर, सर्लाही, काठमाडौंमा, रौतहटका साहित्यकारको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यको पनि आतिथ्य रहेको थियो ।