हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ को अन्तिम हिसावमा सहकारीको बचत ४४ करोड ७५ लाख रुपैयाँ देखिएको हो । सहकारीको सेयर सदस्य ५ हजार ६ सय ७ जना हुँदा सेयर पुँजी ३ करोड ८७ लाख रुपैयाँ पुगेको सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

शनिबार सहकारीको २२ औं वार्षिक साधारणसभामा सहकारीको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष बस्नेतले सहकारीको कर्जा लगानी ४६ करोड ३४ लाख रहेको जानकारी दिनुभयो । सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको छ । यस्तै सहकारीले उत्कृष्ट कर्मचारीको रुपमा प्रशासन तथा ऋण शाखाकी प्रमुख रिता पौडेललाई सम्मान गरेको छ ।

साधारणसभाले नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । शनिबार नै भएको निर्वाचन प्रक्रियाबाट अध्यक्षमा पुनः ईन्द्र बहादुर बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सचिवमा युवराज गौतम, कोषाध्यक्षमा पार्वती भट्ट, लेखा समिति संयोजकमा सुबोध रिमाल, सदस्यमा तुलसा अधिकारी र खडानन्द चौलागाई, ऋण उपसमितिको सचिवमा श्यामकाजी भण्डारी, सदस्यमा नारायणप्रसाद अधिकारी, शिक्षा समितिको सचिवमा यशोधा गौतम र सदस्यमा ओमप्रसाद फुयाल सर्वसम्मत चयन हुनुभएको छ । एकजना उपाध्यक्ष पदका लागि दुईजना र ७ जना सदस्य पदका लागि १८ जनाको उमेदवारी परेको जानकारी गराउनुहुँदै उपाध्यक्ष र सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृत ध्रुवप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको पनि आतिथ्य रहेको थियो । हेटौंडा–७, नागस्वतीमा मुख्य कार्यालय रहेको सहकारीको सेवा केन्द्र हेटौंडा–८ कमाने र हेटौैंडा–१६ हटियामा रहेको छ ।