हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल माध्यम जुुम एपबाट भएको नवसर्जकहरुको भेलाले चौतारीको अध्यक्षमा पुनः प्रशन्ना चौलागाईलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको छ ।
चौतारीका संरक्षक साहित्यकार दीपक गौतमले चौलागाईको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिति घोषणा गर्नुभएको थियो । चौतारीको बरिष्ठ उपाध्यक्षमा विभूति अधिकारी, प्रदेशगत उपाध्यक्षहरुमा प्रदेश १ बाट पूनाहङ्मा नोभा, प्रदेश २ बाट लखिन्द्र दास, बागमती प्रदेशबाट उषा किरण अधिकारी, गण्डकी प्रदेशबाट करुणा विश्वकर्मा, लुम्बिनी प्रदेशबाट जोशिका कँडेल ‘निशा’, कर्णाली प्रदेशबाट समीक्षा नेपाल, सुदूरपश्चिम प्रदेशबाट प्रविन चन्द तथा काठमाडौं उपत्यकाबाट आँचल अधिकारी सर्वसम्मत चयन भएका छन् । साथै चौतारीको महासचिवमा समर्पण न्यौपाने, उपमहासचिवमा रचना भण्डारी सर्वसम्मत भएका छन् । यस्तै सचिवहरूमा युकिशा अधिकारी, प्रतीक कर्ण, रौनक शाह, प्रबिना बराल र सुस्मिता ढुंगाना एवम् कोषाध्यक्षमा प्रतीक्षा गुरुङ चयन भएका छन् । सदस्यहरुमा रोशनी चौलागाई, उन्नत बराल, प्रभाष घिमिरेलगायतका रहेका छन् ।
अहिले ३० सदस्यीय कार्यसमिति चयन भएपनि पछि २१ सदस्य थप गर्ने गरी कार्यसमिति घोषणा गरिएको महासचिव समर्पण न्यौपानेले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरूले शुभकामना तथा बधाई दिनुहुँदै आगामी दिनमा नवसर्जकका कार्यक्रमहरूलाई प्रज्ञा प्रतिष्ठानबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा चौतारीका उपाध्यक्ष विभूति अधिकारीले स्वागत मन्तव्य र प्रविधि संयोजक प्रतीक कर्णले चौतारीको स्थापना कालदेखिका गतिविधिहरू वृत्तचित्रबाट प्रस्तुत गर्नुभएको थियो ।
चौतारीकी अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रा. डा. ध्रुवकुमार घिमिरे र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको विशेष आतिथ्य रहेको थियो । यसैगरी सातै प्रदेशका बाल साहित्यका अन्वेषक साहित्यकारहरू क्रमशः प्रदेश १ का मिश्र वैजयन्ती, प्रदेश २ का नवराज रिजाल, बागमती प्रदेशका डा. कृष्ण सुवेदी (भारद्वाज मित्र), गण्डकी प्रदेशका गंगा कर्माचार्य, लुम्बिनी प्रदेशका जागेश्वर नेपाल, सुदूरपश्चिम प्रदेशका रामचन्द्र नेपालसमेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्य चौतारी जापानकी अध्यक्ष विन्दा पराजुली, साहित्यकार रमेश चन्द्र घिमिरे, नवसर्जक साहित्य चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम र सल्लाहकारहरू तथा सातै प्रदेशका अग्रज तथा बाल साहित्यकारहरूका उपस्थिति रहेको थियो ।