हेटौंडाः केही वर्षअघि कुखुराहरुमा बर्डफ्लु नामक रोग देखिएको थियो । उक्त रोगका कारण लाखौं कुखुराहरु नष्ट गरियो । बर्डफ्लु नियन्त्रणका लागि भन्दै सरकारले कुखुरा फर्महरु बन्द तथा खाली गरेको थियो । मकवानपुर कुखुरा व्यवसायी संघका निवर्तमान अध्यक्ष राजु अधिकारी भन्नुहुन्छ– ‘बर्डफ्लु नियन्त्रणका लागि चार सय वटा कुखुरा फर्म तथा पोल्ट्री फर्महरु बन्द गरिएको थियो ।’ बन्द भएका ती फर्महरु अहिलेसम्म सञ्चालन गर्न नसकिएको अधिकारीले बताउनुभयो ।
अधिकारीले सबै कुखुरा व्यवसायीहरुलाई आफ्ना फर्मको बिमा गर्न आग्रह गर्नुभयो । १० प्रतिशतभन्दा माथि कुखुरा विभिन्न रोगका कारण मरेमा क्षतिपूर्ति लिन मिल्ने अधिकारीले जानकारी दिनुभयो । एकद्वार प्रणालीमा बिमा गर्नका लागि सहज वातावरण तयार गरिने उहाँले बताउनुभयो । अब ती खाली खोरमा कसरी कुखुरापालन गर्न किसानलाई प्रेरित गर्ने भन्ने कुरामा सरकारका सम्बद्ध निकायले निर्णय गर्नुपर्ने अधिकारीले बताउनुभयो । दैनिक आउने रोगका समस्या तथा बर्डफ्लुबाट मुक्त हुनुपर्ने उहाँको भनाई थियो ।
५० प्रतिशत किसानहरुले कुखुरा व्यवसाय छोडेको मकवानपुर कुखुरा व्यवसायी संघ अध्यक्ष गोकुलनाथ पौडेलले बताउनुभयो । अध्यक्ष पौडेलले नयाँ अवधारणा अपनाई १० जनाको समूह बनाएर व्यावसायिकरुपमा कुखुरापालन गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । डा. रामप्रसाद प्रधानले कुखुरा बोक्ने गाडीमा नै रोग हुने दावी गर्नुभयो । यसबाट छुटकारा पाउन बासिङ सेन्टर तथा बधशाला मकवानपुरमै केही महिनापछि निर्माण गरिने बताउनुभयो ।
शनिबार मकवानपुर कुखुरा व्यवसायी संघले नवौं पोल्ट्री दिवस मनाएको छ । दिवसको अवसरमा कुखुरा व्यवसायीहरुसँग संघले अन्तरक्रियासमेत गरेको थियो । पौडेलको सभाध्यक्षता तथा प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राजन ढकाल, रविन्द्रबहादुर प्रधान, ब्रजकिशोर ठाकुर, विदुर गौतम, प्रतिमा श्रेष्ठ, राजेन्द्र मैनालीलगायत कुखुरा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।