अन्तरक्रियामा आफ्नो धारणा राख्नुहुँदै मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट ।

हेटौंडाः शैक्षिक क्षेत्रका सरोकारवालाहरुले हरेक अभिभावकले आफ्ना बालबालिकाको गतिविधिमा निगरानी बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–३, मसिनेस्थित पशुपतिनाथ माविमा बिहीबार आयोजित अन्तरक्रियामा सहभागीले बालबालिकाको निगरानीलाई ध्यान दिन नसकेको खण्डमा ठूलो दुर्घटना हुन सक्ने बताएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको अन्तरक्रियामा सहभागीले शिक्षक, विद्यार्थी, अभिभावकको भूमिकामा समन्वय नभए गुणस्तर बृद्धि नहुने बताएका छन् । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले सामुदायिक विद्यालयमा बालबालिकालाई दिवाखाजाको व्यवस्थाले बालबालिका कक्षाकोठामा बस्ने समय बढेको बताउनुभयो ।

शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले मात्र शैक्षिक गुणस्तर बृद्धि गर्न सकिने बताउनुहुँदै उपाध्यक्ष बिष्टले पशुपतिनाथ माविमा भौतिक पक्ष सवल बन्दै गएको र आगामी दिनमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो । मनहरी गाउँपालिकाका श्रोतशिक्षक पूर्णभद्र भुषालले पशुपतिनाथ माविको विद्यालय व्यवस्थापन समितिको सक्रियताको प्रशंसा गर्दै विद्यालयमा विभिन्न समितिहरु निर्माण गरी जिम्मेवारी बाँडफाट गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, सहायक प्रधानाध्यापक सुशील गौतमले सुधार गर्नुपर्ने पक्षमा आफ्नो धारणा राख्नुभएको थियो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) वागमती प्रदेश कार्यालयको आयोजनामा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधि विमला गोपाली, अभिभावक प्रतिनिधि मीरा खत्री, उद्धव बिष्ट, श्रीकृष्ण ढकाल, विद्यार्थी सुष्मा सिम्खडा, रितेश बिष्टले विद्यार्थी अनुशासन, लगनशीलता, मिहिनेतमा कमि आएर समस्या भएको बताएका छन् ।