हेटौंडाः बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ५ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरेको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र राज्यमन्त्री कल्पना नेपालीको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मकवानपुरको मनहरी, धादिङको गजुरी, काभ्रेको पाँचखाल, सिन्धुपाल्चोकको मेलम्ची र रामेछापको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको हो । केन्द्रका निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई प्यासेन्ट मोनिटर, अक्सिजन कन्सन्ट्रेटर, इसिजि मेसिन, ह्वील चियर, बेड, स्ट्रेचर, अक्सिमिटर लगायतका उपकरण हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएका उपकरण दुर्घटनामा परी घाइते भएकाहरुको प्राथमिक उपचारमा बढी उपयोगी हुने बताइएको छ ।
कार्यक्रममा मन्त्री निमा लामाले दुर्घटनाको दर बढेकाले दुर्घटनामा घाइतेहरुको जीवन रक्षाका लागि उपचार सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले दुर्घटनाका घाइतेहरुलाई समयमै उद्दार र प्राथमिक उपचारका लागि मन्त्रालयले उपलव्ध गराएको उपकरणको सदुपयोग गर्न समेत सुझाव दिनुभएको छ ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई सवल बनाउन निरन्तर सहजीकरण एवम् सहयोगका लागि काम गरिरहेको र यसलाई निरन्तरता दिने बताउँदै सेवा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ । स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, निक साइमण्ड इष्टिच्युटका कार्यकारी अधिकृत अनिलबहादुर श्रेष्ठ, विभिन्न स्थानीय तहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।