हेटौंडाः मकवानपुरको मनहरी–४, मसिनेस्थित पशुपतिनाथ माविका विद्यार्थीको हस्ताक्षर सुधार गर्न शिक्षकलाई तालिम दिइएको छ । पछिल्लो समयमा बालबालिकाको हस्ताक्षर कमजोर बन्दै गएकाकारण सुधार गर्न जरुरी देखिएको विद्यालयले जनाएको छ । विद्यालयसँग सहकार्य गरिरहेको गैरसरकारी संस्था विकासका लागि सहयोग र सहकार्य नेपालले तालिम प्रदान गरेको हो ।
पशुपतिनाथ माविसँगै चेपाङ प्रावि र सृजना प्राविका शिक्षकलाई पनि तीन दिने तालिम दिइएको हो । तालिम कार्यक्रममा प्रमुख अतिथि मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालयले बालबालिकाको हितमा निरन्तर काम गरिरहेको बताउनुभयो । शिक्षकले थोरै ध्यान दिएको खण्डमा बालबालिकाको हस्तलेखनमा सुधार आउने पनि उहाँले बताउनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यको सभाध्यक्षतामा भएको तालिम समापनका अवसरमा तालिमका सहभागी शिक्षक ईश्वर रिजाल, सुमित्रा ढुंगेलले बालबालिकाले भाषाको विषयहरुमा लेख्ने हस्ताक्षर कमजोर बन्दै गएको र आगामी दिनमा सुधार गर्न तालिमले सहयोग गरेको बताए ।
तालिममा विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालका प्रशिक्षक मिनप्रसाद रिजाल र विकास चेपाङले सहजीकरण गरेका थिए । सहभागीहरुले आगामी दिनमा बालबालिकाको गुणस्तरीय शिक्षाका लागि हस्तलेखनमा आमूल परिवर्तन जरुरी रहेको बताएका थिए ।