निर्वाचित विद्यार्थी प्रतिनिधिसँग फोटो खिचाउँदै शिक्षक तथा कर्मचारी ।

हेटौंडाः हेटौंडा–५ मा रहेको ज्ञानदिप शिक्षा (जीएस) निकेतन माविको स्कुल क्याप्टेनमा अबिस कुमार गुप्ता विजयी भएका छन् । शुक्रबार विद्यालयमा भएको चुनावमा सर्वाधिक मतसहित कक्षा १० मा अध्ययनरत अबिस क्याप्टेनमा निर्वाचित भएका हुन् ।

अबिसले सर्वाधिक ४ सय ४ मत ल्याए भने अर्का आकांक्षी कक्षा १० कै प्रकाश सर्राफले २ सय ८६ मत ल्याए । स्कुल क्याप्टेनमा २ जनाको मात्र उम्मेदवारी रहेको थियो । यस्तै स्कुलको भाइस–क्याप्टेनमा कक्षा ९ का आदित्य सिंह राजपुत र छात्रातर्फ कक्षा ८ की पुर्वजा न्यौपाने विजयी भए । उनीहरुले क्रमशः २ सय ५८ र २ सय ८० मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कक्षा ८ का आदर्श पौडेल र कक्षा ९ की नियती खतिवडाले क्रमशः २ सय ३४ र २ सय १० मत ल्याएका थिए । भाइस–क्याप्टेन पदमा ७ जना विद्यार्थीहरुको उम्मेदवारी परेको थियो । स्कुल क्याप्टेन र भाइस–क्याप्टेनका लागि कुल ७ सय ५ मत खसेको थियो ।

मतदानको क्रममा उम्मेदवार छनोट गर्न मतपत्रमा रेजा लगाउँदै मतदाता विद्यार्थी ।

यसैगरी ग्रीन हाउसतर्फ खसेको १ सय ५७ मतमध्ये क्याप्टेनमा सर्वाधिक ६८ मतसहित कक्षा ९ का रोहन जैशवाल विजयी भएका छन् भने भाइस–क्याप्टेनमा ५१ मतसहित कक्षा ९ कै प्रियंका साह विजयी भएकी छिन् । रेड हाउसतर्फ सखेको कुल १ सय ४४ मतमध्ये क्याप्टेनमा ४७ मत ल्याउँदै कक्षा–१० का निशान खड्का विजयी हुँदा भाइस–क्याप्टेनमा ६२ मतसहित कक्षा ८ का अमित यादव विजयी भए ।

मतदानका लागि मतपत्र लिन लामवद्ध मतदाता विद्यार्थी ।

यस्तै ब्लु हाउसतर्फ खसेको १ सय ५१ मतमध्ये क्याप्टेनमा ५५ मतसहित कक्षा ८ का अनिश अन्सारी र भाइस–क्याप्टेनमा ४८ मतसहित अनिश यादव विजयी भएका छन् । यल्लो हाउसमा खसेको १ सय ४१ मत मध्ये क्याप्टेनमा सर्वाधिक ४५ मतसहित कक्षा १० की क्रिश्मा खतिवडा र भाइस–क्याप्टेनमा कक्षा ९ की स्वीकृती लामिछाने ४० मतसहित विजयी भईन् । स्कुल क्याप्टेन तथा भाइस–क्याप्टेन र ४ वटा हाउस अन्तर्गतका क्याप्टेन तथा भाइस–क्याप्टेन गरी ११ पदका लागि ५१ जनाको उम्मेदवारी परेको थियो ।

विद्यार्थीहरुलाई चुनावी प्रक्रियाको अभ्यासका साथै जानकारी गराउन तथा विद्यार्थीको नेतृत्व विकास लगायतका विषयमा विद्यार्थीहरुलाई सक्षम बनाउन विद्यालयमै चुनाव भएको थियो । ६ कक्षा देखि १० कक्षासम्मका विद्यार्थीहरुले भोट (मत) हाल्न पाउनेगरी भएको चुनावमा विद्यालयका ५९३ जना विद्यार्थीले मत खसालेका थिए । यस्तै विद्यालयका शिक्षक तथा कर्मचारीहरुको १ जना बराबर २ मत हुनेगरी भएको चुनावमा कुल ७ सय ५ मत खसेको थियो ।

विद्यालयका शिक्षक तथा कर्मचारीहरुले भने स्कुल क्याप्टेन र भाइस–क्याप्टेनलाई मात्र मत दिन पाउने नियम रहेको निर्वाचन कमिटिका सदस्य नवीन मिश्रले जानकारी दिनुभयो । विद्यार्थीहरुले भने स्कुल तथा आफ्नो–आफ्नो हाउसअनुसारको क्याप्टेन तथा भाइस–क्याप्टेनलाई मत हाल्न पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । निर्वाचन समितिको संयोजकमा माधव अधिकारी तथा सदस्यहरुमा नवीन मिश्र र कंचन तितुङ रहनुभएको थियो ।