एकदिनका लागि वडा अध्यक्ष तथा सदस्यको भूमिकामा पदस्थापित विद्यार्थीहरु ।

हर्नामाडीः वडा कार्यालयमा जनप्रतिनिधिको भूमिकाका बारेमा विद्यार्थीलाई जानकारी गराउन हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले मंगलबार एकदिनका लागि स्थानीय विद्यालयका विद्यार्थीलाई वडा अध्यक्ष र सदस्यको भूमिका निर्वाह गर्न दिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यार्थीलाई वडा अध्यक्ष र सदस्यको भूमिकामा सपथ ग्रहण गराउनुहुँदै पदस्थापन गराउनुभएको थियो ।

स्थानीय प्रहरी चौकीमा सुरक्षाका विषयमा प्रहरीसँग अन्तरक्रिया अन्तरक्रिया गर्दै जनप्रतिनिधिको भूमिकामा रहेका विद्यार्थीहरु ।

एकदिनका लागि जनप्रनितिधिको भूमिकामा पदस्थापित भएका विद्यार्थीले वडा कार्यालयका कर्मचारीसँग परिचयात्मक कार्यपछि वडाको अवस्थाका बारेमा कर्मचारीबाट जानकारी लिएका थिए । स्थानीय मकवानपुर बाल विद्या सदनमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीया कुसुम खड्का वडाअध्यक्षको भूमिका निर्वाह गर्नुभएको थियो भने वडा सदस्यको भूमिकामा १० कक्षाकी १५ वर्षीया रिभा बानियाँ, ९ कक्षाकी १४ वर्षीया सृष्टि बिश्वकर्मा, ८ कक्षाका १३ वर्षीय सौगात घोरासाइनी र १० कक्षाका १५ वर्षीय रजल श्रेष्ठ रहेका थिए । विद्यालयको पाठ्यक्रममा स्थानीय तहको विषयमा अध्ययन गरेका विद्यार्थीले एकदिनका लागि भनेपनि जनप्रतिनिधि भएर अभ्यास गर्दा धेरैकुरा बुझ्न पाएको प्रतिक्रिया दिएका छन् ।

स्थानीय विद्यालयमा शिक्षाका विषयमा अन्तरक्रिया गर्दै जनप्रतिनिधिको भूमिकामा रहेका विद्यार्थीहरु ।

वडा कार्यालयमा कर्मचारीसँग परिचयात्मक कार्यक्रमपछि वडामा रहेको स्वास्थ्य चौकी, प्रहरी चौकी, विद्यालयको भ्रमण गरी ती कार्यालयका अधिकारीसँग अन्तरक्रिया गर्नुका साथै महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित महिलाका लागि अभिमुखीकरण कार्यक्रममा पनि वडा अध्यक्ष खड्काले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभयो भने अतिथिको रुपमा सदस्यहरु पनि सहभागी थिए । विद्यार्थीलाई वडामा जनप्रतिनिधिको भूमिकाका बारेमा जानकारी गराउँदै भविष्यमा शिक्षित व्यक्तिलाई राजनीतिमा सहभागी गराउन वडाले यस किसिमको कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष अनिल बानियाँले जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष र सदस्यहरुको समेत उपस्थितिमा एकदिन वडा अध्यक्षको भूमिका निर्वाह गरेकी कुसुम खड्काले सपथग्रहण गर्दै गर्दा जिम्मेवारीबोध भएको बताउनुभयो । एकदिनकी वडाअध्यक्ष खड्काले वडालाई साक्षर बनाउने, शिक्षकलाई प्रशिक्षित गराउने, वडाका विभिन्न स्थानमा गुनासो पेटिका राखेर समय–समयमा गुनासो संकलन गरी वडावासीको गुनासोलाई सम्बोधन गर्नुपर्ने औँल्याउनुभएको छ । एकदिनको वडा अध्यक्ष कार्यक्रम त्रैमासिक रुपमा आयोजना गरी वडामा रहेका सवै विद्यालयका विद्यार्थीलाई जनप्रतिनिधिको भूमिका निर्वाह गर्न दिइने वडा अध्यक्ष अनिल बानियाँले बताउनुभएको छ ।