हेटौंडाः निर्वँचन आयोगको बागमती प्रदेश कार्यालय हेटौंडाले शुक्रबारबाट मकवानपुरका सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने भएको छ । मकवानपुरमा दुई चरणमा मतदाता नामावली संकलन गरिने प्रदेश निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबारदेखि पुस २ गतेसम्म पहिलो चरणमा र पुस ५ गतेदेखि १९ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गरिने भएको हो । पहिलो चरणमा शुक्रबारदेखि पुस २ गतेसम्म मकवानपुरगढी, भीमफेदी, ईन्द्रसरोवर, मनहरी र बकैया गाउँपालिकामा मतदाता नामावली संकलन गरिने जनाइएको छ । यस्तै, दोस्रो चरणमा पुस ५ गतेदेखि पुस १९ गतेसम्म बागमती, राक्सिराङ, कैलाश गाउँपालिका, थाहा नगरपालिकामा मतदाता नामावली संकलन गरिने जनाइएको छ । हेटौंडा उपमहानगरपालिकाको सन्दर्भमा प्रदेश निर्वाचन कार्यालय हेटौंडामै नामावली संकलन गरिने भएको छ ।

मतदाता नामावली संकलन गर्दा १६ वर्ष पूरा भई उक्त व्यक्तिले नेपाली नागरिकता प्राप्त गरेको हुनुपर्ने जनाएको छ । यद्यपि मतदान गर्नका लागि भने १८ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ । शुक्रबारबाट हुने नामावली संकलन कार्यमा हालसम्म नाम दर्ता नभएकाहरुका लागि मात्र नामावली संकलनको कार्यक्रम आयोजना गरिएको जनाइएको छ । उक्त समयभित्रमा नाम छुटेका व्यक्तिहरुले आफ्नो स्थायी ठेगानाबाहेकका हाल भइरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने भएको हो । तर मतदान गर्न भने स्थायी ठेगानामा नै पुग्नुपर्ने छ ।

कार्यालयका अनुसार जिल्लामा २०७८ कात्तिकसम्म २ लाख ८० हजार १ सय ८१ जना मतदाता रहेका छन् जसमा १ लाख ४२ हजार ७ सय ३ जना पुरुष, १ लाख ३७ हजार ४ सय ७२ जना महिला र ६ जना तेस्रो लिङ्गी रहेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, नेकपा माओवादी केन्द्र मकवानपुुरका प्रचारप्रसार विभागका प्रमुख कमानसिंह पाख्रिन, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र्र गुरुङ, प्रहरी नायव उपरीक्षक जयश्वर रिमाललगायतको आतिथ्य रहेको थियोे ।