वैदेशिक रोजगारीलाई सुरक्षित र प्रभावकारी बनाउनु सम्बन्धित सबै पक्षको जिम्मेवारी हो । विशेषगरी राज्यका निकायबाट विदेश जानेहरुका लागि उचित प्रशिक्षण र जानकारी दिनु पर्दछ । यसका लागि विभिन्न सरकारी निकाय वा गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा पनि काम गर्न सकिन्छ । तर सरकारले त्यस प्रकारको कार्यक्रम सञ्चालन गरेको छैन । रोजगारीका लागि विदेशिनेमध्ये २० प्रतिशतभन्दा बढी संकटमा पर्ने गरेका छन् । उनीहरु कसरी र किन समस्यामा परे भन्ने विषयमा अनुसन्धान गरी समाधानका लागि योजना बनाउनु राज्यको जिम्मेवारी हुन्छ । अवस्था के हो, काम कस्तो छ, लाने र पठाउने कम्पनीहरुको बैधता र विश्वसनीयताको परीक्षण विदेशिनेहरुले पनि गर्नु पर्दछ ।
वैदेशिक यात्रालाई सुखद् बनाउन आवश्यक परामर्श दिन भन्दै जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र स्थापना भएको छ । यो केन्द्रका कारण मकवानपुरका सेवाग्राही निकै लाभान्वित भएको दावी छ । तर विदेश जाने सबैले यो केन्द्रबाट सेवा लिन पाएका छन् ? उनीहरुलाई क्षमताअनुसारको सीप सिक्ने अवस्था बनाइएको छ वा केन्द्रमा नाम दर्ता गरेकै भरमा सेवा लिएको अभिलेख राखिन्छ भन्ने गम्भीर प्रश्न छ । केन्द्र आफूले राखेको तथ्यांक र दिएको रिपोर्टमा मात्र भरपर्ने हो भने फरक नतिजा पनि आउन सक्छ । तर सेवाग्राहीले नै केन्द्रको कामबाट जोखिम न्यूनीकरणमा सहयोग पुगेकाले विश्वास गर्ने आधार देखिन्छ । राहदानी बनाउन आउनेहरुलाई आवश्यक परामर्श दिने गरेपछि सेवाग्राही पनि होशियार र सचेत बनेको पाइन्छ ।
आप्रवासी स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारका लागि विभिन्न जानकारी गराउँदै आएको थाहा पाएपछि सेवा लिनेहरुको संख्या बढ्दै जाने नै छ । तर श्रोतकेन्द्रले गर्ने काम र दिने सेवासम्बन्धी जानकारी सबै सेवाग्राहीलाई कसरी पुर्याउने भन्ने मुख्य चुनौती हो । धेरै युवाहरु त दलालको चंगुलमा परिसकेका हुन्छन् । उनीहरुले श्रोत केन्द्रबारे जानकारी लिने मौका नै पाउँदैनन् । राहदानी लिने प्रक्रियामै श्रोत केन्द्रमा पनि जानैपर्ने अनिवार्यजस्तै बनेपछि भने सेवाको प्रभावकारिता बढेको छ । तर दलालहरुले नै श्रोत केन्द्रको परामर्शको औचित्य छैन भन्दै भड्काउने काम पनि गरेको पाइन्छ । श्रोत केन्द्रमा पुग्नेहरुका लागि सेवा निकै प्रभाकारी भएको छ ।
श्रमका लागि विदेश जान लागेका युवा शक्तिलाई आवश्यक परामर्श तथा सीपयुक्त बनाउनु चुनौती भए पनि आवश्यक छ । बिना सीप विदेश जानु भनेको जनशक्तिको तस्करी नै हो । जसले गर्दा युवाहरुले अनेक हण्डर खानु नै हो । तर एजेन्टहरुले कमिसन पाउने भएपछि जसरी पनि पठाउने काममात्र गर्दछन् । विदेशमा काम गर्दा स्वस्थ र सुरक्षित हुनै पर्दछ । घरखेत बेचेर परिवारको सुन्दर भविष्यका लागि विदेशिन बाध्य भएकाहरुलाई आवश्यक परामर्श नहुँदा जीवन नै जोखिममा परेका छन् । विदेश जाने तयारी गरेकाहरु सबैले श्रोतकेन्द्रको सेवा पाउन सकेको अवस्था छैन । श्रोतकेन्द्र छ र उसले विदेश जानेहरुका लागि आवश्यक परामर्श दिन्छ भन्ने जानकारी हुन आवश्यक छ ।