हेटौंडाः हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेकाहरूलाई बसले शनिबार राति ठक्कर दिँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०९३६ नम्बरको बस अनियन्त्रित भई देउसी खेलिरहेकाहरूलाई ठक्कर दिन पुगेको थियो ।
हेटौंडा–१५ का २० वर्षीय सुजन विष्ट र चितवन घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । घाइते हुनेमा हेटौंडा–१९ का १६ वर्षीय संगम नेपाली, १० वर्षीया निष्ठा मोक्तान, ३५ वर्षीया तुलशा विष्ट, ३५ वर्षीया लक्ष्मी गुरुङ र ४७ वर्षीय टंकप्रसाद डल्लाकोटी रहेका छन् । घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ भने अन्यको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । बसले ठक्कर दिएपछि स्थानीयहरुले बसमा आगजानी समेत गरेका छन् ।











