कविता प्रतियोगितामा तृतीय भएका मकवानपुरका समर्पण (बायाँबाट पहिलो) सहित अन्य विजेताहरु पुरस्कार ग्रहणपछि ।

हेटौंडाः विशिष्ट आख्यान तथा बाल साहित्यकार रमेश विकलको ९४ औ जन्मजयन्तीको अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरूपमा आयोजना गरेको माविस्तरीय आशु कविता लेखन तथा वाचन प्रतियोगितामा मकवानपुरका समर्पण नेउपाने तृतीय हुनुभएको छ ।

असोज ९ गते आयोजित प्रतियोगितामा सहभागी भएका बाल साहित्यकारहरुलाई शुक्रबार एक समारोहका बीच काठमाडौंमा पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा काठमाडौंस्थित एम्बिसन एकेडेमीकी प्रविज्ञा नेपाल प्रथम, धनगढीस्थित शिक्षा शिशु सदनकी विभूति अधिकारी द्वितीय हुनु भयो । प्रतियोगितामा इष्टपोल माविकी दिलाशा तिवारी सुसंस्कार माविकी वन्दना जयसवाल सान्त्वना हुनुभयो ।

रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभाध्यक्षता तथा नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । रमेश विकल प्रतिष्ठानका उपाध्यक्ष हेमनाथ पौडेलले रमेश विकलको कृतित्व र व्यक्तित्व बारे बोल्नुभएका थियो भने नेपाल ललित कला प्रतिष्ठानका कुलपति के के कर्माचार्य र गोविन्द प्रसाद घिमिरे वेदमणि घिमिरेले वस्तुगत मन्तव्य दिनुभएको थियो ।