हेटौंडाः साहित्य संगम मकवानपुर र युग प्रकाश क्लबको संयुक्त आयोजनामा मकवानपुरका दुईजना साहित्यकारलाई सम्मान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीको अवसरमा बिहीबार साहित्यकार रमेशमोहन अधिकारी र ह्यग्रीव आचार्यलाई नगद १०/१० हजार रुपैयाँसहित देवकोटा स्मृति सम्मान प्रदान गरिएको छ ।

देवकोटा स्मृति २०७७ बाट रमेशमोहन अधिकारी र २०७८ बाट ह्यग्रीव आचार्यलाई सम्मान गरिएको साहित्य संगम मकवानपुरका सचिव डीबी बर्तौलाले जानकारी दिनुभयो । कोभिड–१९ महामारीका कारण गत बर्ष सम्मान कार्यक्रम आयोजना गर्न नसकिएकोले यस बर्ष एकैपटक दुईजनालाई सम्मान गरिएको सचिव बर्तौलाले बताउनुभयो । हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन मावि परिसरमा पुरस्कार वितरण कार्यक्रम भएको हो । त्रिभुवन माविमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको प्रतिमा स्थापना गरिएको छ ।
युग प्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको सभाध्यक्षता तथा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको हो । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको समेत उपस्थिति रहेको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले देवकोटाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा ११ नम्बर वडा सदस्य रामचन्द्र न्यौपाने, जुना दाहाल, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, पूर्वअध्यक्ष सुवास खनाल, श्यामकुमार बानियाँ, प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्तिप्रिय बन्दना, त्रिभुवन माविका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीको पनि उपस्थिति रहेको थियो । पुरस्कार वितरण समारोह अघि हेटौंडा–११ स्थित शहीद स्मारक परिसरबाट त्रिभुवन माविसम्म प्रभातफेरिको आयोजना गरिएको थियो ।











