मकवानपुर जिल्ला छनोटमा सहभागी यू १९ क्रिकेट खेलाडीहरु ।

हेटौंडाः मकवानपुरमा बुधबार अन्डर–१९ क्रिकेट खेलाडी छनोट सुरु भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा बुधबार बिहानबाट क्रिकेटका खेलाडी छनोट कार्यक्रम सुरु गरिएको हो ।

नेपाल क्रिकेट संघले आगामी मंसिर पहिलो साताबाट यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको कारण प्रदेश छनोटमा सहभागि हुनका लागि जिल्ला छनोट गरिएको बागमती प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगिताअघि बागमती प्रदेशका जिल्लाका यू–१९ क्रिकेट टिम बिच प्रतियोगिता भई त्यसबाट पनि खलाडी छनोट भएर बागमती प्रदेश क्रिकेट टिमले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने उहाँको भनाई छ ।

उद्धाटन कार्यक्रममा सहभागी अतिथिहरु ।

जसका लागि जिल्लाबाट राम्रा खेलाडीहरु छनोट गरी बागमती प्रदेश छनोटमा मकवानपुरका धेरै खेलाडीहरु छनोट हुनेगरी तयारी गरिने उहाँले बताउनुभयो । प्रदशेमा १३ जिल्ला भएपनि हालसम्म ६ जिल्लाबाट मात्र क्रिकेट टिम आउने जानकारी प्राप्त भएकाले ६ टिमबिच प्रदेश छनोट हुने पनि उपाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । जसका लागि भइरहेको जिल्ला छनोटमा १९ वर्ष मुनिका ४० जना खेलाडीहरु उपस्थित रहेका छन् ।

सहभागि खेलाडीहरुबाट उनीहरुको प्रदर्शनको आधारमा १४ जना खेलाडी छनोट गरिने उहाँले बताउनुभयो । यस्तै ४ जना बैकल्पिक खेलाडी पनि छनोट हुनेछन भने छनोट भएका खेलाडीहरुको नामावली बुधबार नै दिउँसो ३ बजे पछाडी सार्वजनिक गरिने जनाइएको छ । छनोट कार्यक्रमको उद्धाटनमा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका अध्यक्ष प्रकाश सुवेदी लगायतकाको आतिथ्यता रहेको थियो ।