
हेटौंडाः नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले हाल सरकारमा रहेको गठबन्धनलाई ‘डरपोक’ को संज्ञा दिनुभएको छ । शनिबार भएको नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटी सदस्य पोखरेलले एमालेसँ एक्लै चुनावमा लड्न नसक्ने भएकै कारण डरले गठबन्धन गरेको बताउनुभयो ।
एमालेका केही स्वार्थ बोकेका नेताहरु चोइटिएर गएपनि एमाले अझै मजबुत भएका कारण विपक्षी गठबन्धनका दलहरु एक्लाएक्लै एमालेसँग चुनाव लड्न डराएकै कारण गठबन्धन गरेको उहाँको भनाई छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेर एमाले जनताको जनादेशमा जान चाहन्छ भनेका कारण यी गठबन्धनमा रहेका दलहरु डराएको पनि उहाँले बताउनुभयो । जनतासँग जाँदा आफ्नो शर्मनाक पराजय हुने थाहा भएकै कारण यी दलहरु एमालेसँग मात्र नभएर जनतासँग डराएका कारण गठबन्धन गरी जनादेशमा जान खोजेको एमालेको बिरोध गरिरहेको उहाँले तर्क व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री पोखरेलले विपक्षी गठबन्धनमा रहेका दलहरुलाई बिरोधी कित्ता भएको बताउनुहुँदै यी दलहरुसँग कुनै प्रकारको विचार, उद्देश्य तथा गन्तब्य नभएको बताउनुभएको छ । यी दलहरुको एउटै लक्ष्य एमालेलाई कमजोर बनाउने भएपनि कुनै हालतमा नसक्ने पनि उहाँले बताउनुभयो । जतिसुकै दलले गठबन्धन गरेर आएपनि एमाले एक्लै चुनाव लड्न तयार रहेको पनि उहाँले जानकारी दिनुभयो ।
हिजो चुनावमा भोट माग्दा कांग्रेसले भलो गर्दैन भनेर भोट माग्नेहरु नै आज देउवालाई नेता मान्दै समाजवादको कुरा गर्दै जनतालाई धोका दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कस्तो खालको समाजवाद भन्नु त ? कांग्रेसको नेतृत्वमा समाजवादको यात्रा, लाज पनि लाग्नुपर्ने ।’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सम्भव छ ? यो भन्दा ठूलो मजाक जनतामाथि के हुनसक्छ ?’
कार्यक्रममा १ घण्टाभन्दा बढी समय मन्तव्य व्यक्त गर्नुभएका प्रमुख अतिथि पोखरेलले अधिकतम समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामै बिताउनुभयो । उहाँले अध्यक्ष ओलीले सरकारमा रहँदा गरेका कामहरुको बारेमा चर्चा गर्नुभएको थियो । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली यो मुलुकको राजनीतिमा जनता र कार्यकर्ताले रुचाएर र चुनेर बनाएको नेता भएको बताउनुभयो । केपी शर्मा ओली आफ्नै पार्टीको अध्यक्षसँग प्रतिस्पर्धा गरेर संसदीय दलको नेता भएको, महाधिवेशनमा ३-३ पटकसम्म पार्टीको नेतृत्व गर्ने, १६ वर्ष पार्टीको महासचिव भएको व्यक्तिसँग प्रतिस्पर्धा गरेर जितेर नेता भएको उहाँको भनाई रहेको थियो । नेताले नेता बनाएका नेता र कार्यकर्ताले नेता बनाएको नेताबीच अन्तर हुने पनि उहाँले बताउनुभयो ।
यस्तै उहाँले कार्यकर्ताहरुमाझ समाजवादको नाममा भ्रम फैलाइरहेकाले यस्ता भ्रममा नपर्न पनि आग्रह गर्नुभएको छ । नेताहरुबाट गल्ती हुने भएपनि कार्यकर्ताहरुबाट गल्ती नहुने उहाँले बताउनुभयो । कार्यकर्ताहरु नेताहरुको उक्साहटमा परेर रनभुल्लमा परेकाले नेताहरुलाई माफी दिन नसकेपनि कार्यकर्ताहरुलाई माफी दिएर मूल पार्टीमा फर्काउने काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।