शनिबार नेकपा एमाले हेटौंडा नगर कमिटीको अधिवेशनमा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य शंकर पोखरेल ।

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी एमालेको पालिका अधिवेशन मकवानपुरका सबै स्थानमा सम्पन्न भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा ८ गाउँपालिकाहरुमा सर्वसम्मतरुपमै नेतृत्व चयन गर्दै प्रथम पालिका अधिवेशन सम्पन्न भएको हो ।

मकवानपुरका १० पालिकामध्ये शनिबार ८ पालिकामा पार्टी अधिवेशन भएको छ । राक्सिराङ र कैलाश गाउँपालिकामा क्रमशः बिहीबार र शुक्रबार नै अधिवेशन सम्पन्न भइसकेको छ ।

शनिबार हेटौंडाको अधिवेशन रोयल प्यालेसमा आयोजना हुँदा थाहा नगर अधिवेशन पालुङमा, मनहरी अधिवेशन रजैयामा, भीमफेदी अधिवेशन भीमफेदी बजारमा, ईन्द्रसरोबर अधिवेशन कुलेखानीमा आयोजना भएको थियो । यसैगरी बागमती अधिवेशन फापरबारीमा, बकैया अधिवेशन हात्तीसुँडेमा र मकवानपुरगढी अधिवेशन आमभञ्ज्याङमा आयोजना भयो ।

हेटौंडामा पुडासैनीको नेतृत्वमा ८५ सदस्यीय नगर कमिटी
नेकपा एमाले हेटौंडा नगर कमिटीको प्रथम अधिवेशनबाट शालिराम पुडासैनीलाई नगर अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरिएको छ । शनिबार भएको अधिवेशनबाट पुडासैनीको अध्यक्षतामा ८५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा नवराज खतिवडा, सचिवमा बोलबहादुर कार्की तथा उपसचिवहरुमा उर्मिला श्रेष्ठ र जेन श्रेष्ठ चयन भएका छन् । आयोजक कमिटी तथा प्रतिनिधिहरु गरी करिब ७ सय जनाको उपस्थितिमा भएको अधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

भीमफेदीमा थापाको नेतृत्व
भीमफेदी गाउँपालिकामा पनि शनिबार नेकपा एमाले गाउँपालिका कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नेकपा एमाले भीमफेदी कमिटी अध्यक्षमा सानु थापा मगर सर्वसम्मतरुपमा चयन हुनुभएको छ । थापाको नेतृत्वमा भीमफेदीमा ५७ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा शिबराज पुडासैनी, सचिवमा शिबराम रूम्बा तथा उपसचिवहरुमा मंगलादेवी श्रेष्ठ र काशीराम बज्यु चयन भएका छन् ।

एमाले केन्द्रीय कमिटी सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यतामा भएको अधिवेशन भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी पूर्वसल्लाहकार ठाकुरराम खड्का, जिल्ला कमिटी पूर्वसल्लाहकार द्रोणभद्र पुडासैनी, अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य पार्वती राना, बागमती प्रदेश मकवानपुर सम्पर्क मञ्च सचिव राजेन्द्र कठायतलगायत जिल्ला कमिटी सदस्यहरू तथा पार्टी प्रतिनिधि तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

बकैया र ईन्द्रसरोबरमा दाहाल र पुडासैनी
नेकपा एमाले बकैया गाउँपालिका कमिटीको अध्यक्षमा गोपाल दाहाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार भएको प्रथम पालिका अधिवेशनबाट दाहालको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सुस्मिता घोरासैनी, सचिवमा फूलमान भोम्जन तथा उपसचिवहरुमा याग्री डोल्मा लामा र लालबहादुर स्याङ्तान चयन भएका छन् ।

यसैगरी नेकपा एमाले ईन्द्रसरोबर गाउँपालिका कमिटीको अध्यक्षमा देवकृष्ण पुडासैनी चयन हुनुभएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट पुडासैनीको अध्यक्षतामा सर्वसम्मत रुपमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा प्रताप भोम्जन, सचिवमा धनवीर स्याङ्तान तथा उपसचिवहरुमा बैकुण्ठ थापा मगर र उमाकुमारी लामा चयन भएका छन् ।

बागमतीमा राईको नेतृत्व
नेकपा एमाले बागमती गाउँपालिका कमिटीको प्रथम अधिवेशनले चन्द्रबहादुर राईको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । बागमती गाउँपालिका कमिटी उपाध्यक्षमा किशोर राई, सचिवमा मनोज नेगी तथा उपसचिवमा आशीष पाख्रिन र देवराज राना चयन भएका छन् । एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवशेनले राईको नेतृत्वमा ६९ सदस्यीय कमिटी चयन गरेको छ ।