हेटौंडाः बागमती प्रदेशको रिक्त मुख्यमन्त्री पदमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेले आफ्नो दाबी पेश गरेका छन् । आज दिउँसो प्रदेश प्रमुख यादव चन्द्र शार्माले मुख्यमन्त्री पदमा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
राजेन्द्र पाण्डेले नेपाली कांग्रेस २२, माओवादी २३, एकीकृत समाजवादी १३ र जसपाको १ सांसद गरेर ५९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा प्रदेश प्रमुख यादव चन्द्र समक्ष दाबी पेश गरेका छन् । पाण्डेले प्रदेशमा स्पष्ट बहुमत पुग्ने भएकोले भोलि दिउँसो ३ बजेभित्रै सपथ सकाउन प्रदेश प्रमुख समक्ष आग्रह समेत गरेका छन् । स्वास्थ्य अवस्था समान्य नभएको भन्दै प्रदेश प्रमुख शर्माले भोलि दिउँसो १ बजे मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने बताएका छन् । प्रदेश प्रमुख कार्यालयले भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न समयसिमा तोकेको थियो ।