मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको आज मंगलबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने र वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल) भिड्दै हुनुहुन्छ । न्यौपाने र गुप्ता चुनावी मैदानमा होमिनुभएको छ । उहाँहरु आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिनुभएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता

यसअघि मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएका महेन्द्र राउत भने ब्याक हुनुभएको छ । उहाँले कृष्णकुमार गुप्तालाई सहयोग गर्ने जानकारी दिनुभएको छ । राउत नेपाली कांग्रेसका नेता हुनुहुन्छ भने गुप्तालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्नुभएको थियो ।

यस्तै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएका न्यौपाने पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा बहाल रहँदा एमाले प्रवेश गर्नुभएको थियो । प्यानलसहित संघको अध्यक्षका लागि प्रतिस्र्धामा देखिनुभएका दुबै जना व्यवसायीहरुबीच घुलमिल भएका सफल व्यवसायी हुनुहुन्छ ।

वर्तमान उपाध्यक्षसमेत रहनुभएका गुप्ताको समर्थनमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्वअध्यक्षहरु भुवनलाल श्रेष्ठ, अरुण सुमार्गी देखिनुभएको छ । निवर्तमान अध्यक्ष न्यौपानेले आफूले पूर्वअध्यक्षहरुलाई सधैं अघि बढ्न सहयोग गरे पनि आफूलाई अघि बढाउन पूर्वअध्यक्षहरुले सक्रियता नदेखएको बताउनुभयो । उहाँले व्यवसायीको समस्यामा नेतृत्व पुग्नुपर्ने भन्दै निषेधको राजनीति तोड्न संघमा पुनः आउन खोजेको बताउनुभयो । उहाँले आफ्नो टिमले व्यवसायीको मर्म बुझेर नीति निर्माणसम्मको काम गर्ने बताउनुभयो । अरुबाट स्वचालित व्यक्तिहरुलाई मत नदिन न्यौपानेले व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ ।

न्यौपानेले हेटौंडाको २५ मिटर बाटोको बारेमा समेत बोल्नुभएको छ । उहाँले व्यापारीहरुमात्र नभएर, घरधनी भएर हाइवेको विकल्प बनाउनुपर्ने बताउनुभयो । भएका संरचना भत्काएर विकास निर्माण नहुने भन्दै व्यवसायी, घरधनी सबैलाई व्यवस्थापन गर्दै सुन्दर हेटौंडा बनाउनुपर्ने बताउनुभयो । हाइवेबाट २५ मिटर बाटो भत्काउँदा हेटौंडा शहर नै नरहने उहाँले बताउनुभयो ।
यसैगरी अध्यक्षका अर्का उम्मेदवार गुप्ताले पनि जिल्लाका सबै दलको नेतृत्व, संघसंस्थासँग सहकार्य गरेर बाटो फराकिलो पार्ने बताउनुभयो । उहाँले पनि आफ्नो टिमले व्यवसायीको हकहितका लागि काम गर्ने बताउनुभएको छ ।

उपाध्यक्षमा महिला प्रतिस्पर्धा गर्दे
मकवानपुर उद्योग वाणिज्य संघको उद्योगतर्फको उपाध्यक्षमा प्रतिमा श्रेष्ठ चुनावी मैदानमा रहनुभएको छ । उहाँ राजकुमार न्यौपानेको प्यानलबाट चुनावी मैदानमा रहनुभएको छ । यस्तै उहाँको प्रतिस्पर्धामा कृष्णकुमार गुप्ता प्यानलबाट प्रमोदसिंह रानाभाट उद्योगतर्फको उपाध्यक्षमा प्रतिस्पर्धामा देखिनुभएको छ ।
महिलाबाट उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिनुुभएकी श्रेष्ठ पोल्ट्री व्यवसायमा हुनुहुन्छ । उहाँले व्यवसायीलाई अप्ठेरो पर्दा सधैं साथ दिने भन्दै आज हुने मतदानमा महिलालाई विजयी बनाउन आग्रह गर्नुभयो ।