हेटौंडाः मकवानपुर जिल्लालगायत देशभर आज आइतबार भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ । मकवानपुर जिल्लाका ४ सय ६४ जना स्वास्थ्य स्वयम्सेविकामार्फत् ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ ।
मकवानपुर जिल्लाभर ४१ हजार ९ सय १८ जना बालबालिकालाई भिटामिन ए र ३७ हजार २ सय ७ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाभित्र ९२ जना स्वास्थ्य स्वयम्सेविकालाई भिटामिन ए तथा जुकाको औषधी खुवाउन परिचालन गरिने पनि उहाँले बताउनुभयो ।
७ गतेबाट भिटामिन ए र जुकाको औषधी खुवाउन सुरु गर्ने र ७ गते छुटेकालाई ८ गते खुवाइने बताइएको छ । ती दुबै दिन खुवाउन छुटेकाले पनि स्वास्थ्य स्वयम्सेविकालाई खबर गरे घरमै पुगेर पनि उपध्यायले जानकारी दिनुभयो ।
सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउँदै आएको छ । प्रत्येक वडामा तोकिएका खोप केन्द्रमा भिटामिन ए र जुकाको औषधी खुवाउन सकिनेछ । विगतका वर्षहरुमा कात्तिक ३ र ४ गते भिटामिन ए खुवाउँदै आएकामा यसवर्ष दशैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
६ देखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले विसं २०५० सालबाट भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधी भने विसं २०५६ सालबाट खुवाउन थालिएको हो ।