
हेटौंडाः गत शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीलाई गृहजिल्लामा सम्मानको कार्यक्रमहरु सुरु भएको छ । नेपाली फुटबल स्ट्राइकर अन्जन विष्टलाई विभिन्न संघसंस्था तथा राजनीतिक दलले सम्मान गरेको हो ।
मकवानपुरे खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै खेलेको भनेर अन्जनले सम्मान पाइरहँदा नेपाली राष्ट्रिय टिममा रहेका मकवानपुरकै अर्का खेलाडी सुनिल बललाई भने बेवास्ता गरिएको छ । शुक्रबार सचेत नागरिक युवा समूह तथा सामुदायिक सेवा उपकेन्द्र र शनिबार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले अन्जनलाई नगदसहित सम्मान गरेको थियो । तर साफ च्याम्पियनसिपको फाइनल खेलमा मैदान प्रवेश गरेका सुनिल बलको सम्मान कार्यक्रममा नामसमेत नलिइएपछि भेदभाव भएको भन्दै आलोचना सुरु भएको छ । अन्जनलाई विभिन्न संस्थाले सम्मान गरेको समाचार आएपछि मकवानपुरका फुटबलप्रेमीहरुले सुनिल बललाई छुटाएको भन्दै सामाजिक सञ्जालमा आलोचना व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी सुनिल बलले शुक्रबार साँझ हुने सम्मान कार्यक्रमको लागि कार्यक्रम हुनुभन्दा १ घण्टा अगाडि फोन आएको र आफू काठमाडौं रहेको जानकारी दिएपछि अरु सम्मानका कार्यक्रमहरुका विषयमा कुनै जानकारी नभएको बताउनुभएको छ । ‘सबै खेलाडीले देशका लागि खेलेको हो । कसैले धेरै खेल्ने मौका पाउला, कसैले थोरै तर भेदभाव हुन नहुने हो । अब उहाँहरुको कुरा हो । मलाई अरु केही भन्नु छैन’, उहाँले भन्नुभयो । दशैंमा आफू घर आउन नपाएका कारण काठमाडौंमै प्रशिक्षण गरिरहेको र तिहारमा मात्र आउने योजना रहेको उहाँले बताउनुभयो ।
अन्जन विष्टका बुवा राजु विष्ट नेपाली कांग्रेसका क्रियाशील सदस्य रहेका कारण शनिबार नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले गरेको सम्मान कार्यक्रमलाई राजनीतिक पार्टीगतरुपमा सम्मान गरिएको आरोपसमेत लागेको छ । यसै विषयमा नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरका सभापति सविन भट्टाचार्यले खेलाडी सम्मान कार्यक्रम कुनै पूर्वाग्रह राखेर नगरिएको बताउनुभएको छ । अन्जन विष्ट दशैंमा हेटौंडा आएको बेलामा खेलाडी सम्मान कार्यक्रम तुरुन्तै बनेको र सुनिल बल काठमाडौं रहेको भन्ने जानकारी आएकाले अन्जनलाई सम्मान गरिएको उहाँले बताउनुभयो । सुनिल बल तिहारमा हेटौंडा आउने भन्ने कुरा जानकारीमा आएकाले उनी हेटौंडा आएपछि पुनः सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
सामाजिक सञ्जालमा भेदभाव भयो भनेर भन्नेहरुले बास्तविकता नबुझी अनावश्यक तर्क व्यक्त गरेको उहाँको भनाई थियो । अनावश्यक तर्क गरेर बस्नेहरुले खेलाडीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरु गर्न पनि सक्नुपर्ने बताउनुभयो । साथै उहाँले सम्मान कार्यक्रममा सुनिल बल काठमाडौं रहेकाले अहिले सम्मान गर्न नसकिएको भनेर जानकारी गराइएको दाबी गर्नुभयो । तर, कार्यक्रममा उपस्थित पत्रकारमात्र नभई नेपाली कांग्रेसकै एक क्रियाशील सदस्यले कार्यक्रममा सुनिल बलको नामसमेत नलिइएको बताए ।
अन्जनलाई नगदसहित सम्मान

हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी अन्जन विष्टलाई शनिबार नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले सम्मान गरेको छ । शनिबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा राष्ट्रिय खेलाडी अन्जनलाई नगदसहित सम्मान गरिएको हो ।
लोकतान्त्रिक खेलकुद संघ मकवानपुरको सभापति सविन भट्टाचार्यको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अन्जनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको थियो । साफ च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन मकवानपुरे खेलाडी अन्जनको ठूलो हात रहेको भन्दै विष्टको थप हौसलाका लागि सम्मान गरिएको जनाइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बानियाँसहित सचेत नागरिक युवा समूह हेटौंडाका अध्यक्ष शिवनारायण श्रेष्ठ, नेपाल लोकतान्त्रिक खेलकुद संघका उपाध्यक्ष शर्मिला श्रेष्ठ, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका पूर्वसभापति आनन्दराम पराजुली, नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडालगायतकाको आतिथ्यता रहेको थियो ।