पर्सा राष्ट्रिय निकुञ्ज र मकवानपुर मनहरीका स्थानीय बासिन्दाबीच लामो समयदेखि विवाद हुँदै आएको छ । समस्यालाई दुई पक्षबीच समझदारी कायम गर्ने गरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिसमेत गठन हुँदै आएको छ । प्राकृतिक स्रोत उपभोग, बाँडफाँड र प्रयोगमा विवाद भए पनि त्यसको समाधानका लागि भन्दै व्यवस्थापन समिति गठन हुने गरेको पाइन्छ । समिति गठन भए पनि विवादको अन्त्य हुन सकिरहेको छैन । प्रत्येक दिनजस्तै विवाद भएकै हुन्छ, तर समितिले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको छैन । निकुञ्जबाट सर्वसाधारणले अनेक समस्या खेप्नुपरेको छ । जनावरको आतंक एकातर्फ छ भने, अर्कोतर्फ त्यहाँका कर्मचारीहरुबाट समेत दुःख दिने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।
उनीहरुको वर्षौंदेखिको पीडा समाधान नभएपछि स्थानीयहरु आन्दोलनमै उत्रन बाध्य भएका छन् । नदीजन्य सामग्री व्यवसायी तथा सर्वसाधारण निकुञ्ज प्रशासन, स्थानीय पालिका तथा स्थानीय प्रशासनप्रति असन्तुष्ट देखिएका छन् । निकुञ्ज क्षेत्रबाट निस्कने जंगली जनावरले नागरिकको सम्पतीमात्र हैन कि, ज्यानसमेत नोक्सान गर्दै आएको छ । तर उचित संरक्षण, व्यवस्थापन तथा क्षतिपूर्तिसमेत नपाएपछि दवाव दिनुको विकल्प छैन । जंगली जनावरको बाटो मानिसहरुले अवरोध गरिदिएपछि द्वन्द्व बढ्दै गएको देखिन्छ । उनीहरुको बासस्थानदेखि ओहोरदोहोरको परम्परागत मार्गहरुमा अतिक्रमण भएपछि जनावरले क्षति पुर्याएको विज्ञहरुको तर्क छ । निकुञ्ज क्षेत्र जनावरकै लागि हो । तर मानिसले पनि निकुञ्ज क्षेत्रलाई उपयोग गर्न खोज्दा जनावरसँग द्वन्द्व बढेको हो ।
स्थानीयहरुले घरायसी प्रयोजनका लागि घाँस दाउरादेखि जंगली कन्दमूल उपयोग गर्दछन् । निकुञ्जको सुरक्षार्थ खटिएका कर्मचारीहरुप्रति आम नागरिकले गुनासो गर्दै आएका छन् । विशेषगरी जंगलबाट जनावर बाहिर आउन नपाउने र निकुञ्जमा सर्वसाधारण प्रवेश नपाउने प्रबन्ध गर्ने हो भने समस्या समाधान हुनसक्छ । जनावर जुनसुकै बखत निस्कने र मानिसलाई मात्र रोक्न खोज्दा विवाद हुने गरेको हो । जनावरको आक्रमण हुने डरले खटिएका सुरक्षाकर्मीले नागरिकलाई जंगल प्रवेशमा अवरोध गर्नु स्वभाविक हो । निकुञ्ज बन्दा बाहिरको क्षेत्रमा नागरिक र जंगली जनावरले आफ्नो क्षेत्र ठान्दा विवाद र नोक्सानी हुँदै आएको छ । जनावरलाई निकुञ्जभित्र नै राख्न सक्ने व्यवस्था गर्ने र बाहिरको क्षेत्रमा मानिसले उपयोग गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो ।
निकुञ्ज आसपासको बगरबाट नदीजन्य पदार्थ उत्खनन् गरी जीविकोपार्जन गर्ने ट्याक्टर व्यवसायी थप मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालयले पनि नियम र परिधिभित्र रहेर विवाद मिलाउनका लागि गाउँपालिकामै समन्वय इकाई खडा गर्न निर्देशन दिएको छ । मनहरीको पश्चिम क्षेत्रमा बसोबास गर्ने धेरै बासिन्दाको रोजीरोटी ट्याक्टर व्यवसायमा निर्भर रहेको तर निकुञ्ज क्षेत्रबाट उनीहरुको कामलाई अबैध भन्दै अवरोध गरेपछि उनीहरु आन्दोलित भएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा सेनाले नदीको ढुंगा, गिटी, बालुवा उत्खनन् तथा ओसारपसारमा व्यवसायीलाई अवरोध गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । निकुञ्ज क्षेत्रभन्दा बाहिर आम नागरिकले उपभोग गर्न पाउनुपर्ने उनीहरुको माग छ । द्वन्द्व बढ्नेभन्दा न्यूनीकरणतर्फ सबैको सक्रिय पहल आवश्यक छ ।