सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अन्तरक्रियामा सहभागीहरु ।

हेटौंडाः वैदेशिक रोजगारलाई सुरक्षित, शोषणमुक्त र ठगीमुक्त गराउने उद्देश्यका साथ सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी प्रहरीसँग एकदिने अन्तरक्रिया भएको छ । अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिका उपमेयरमिना कुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।

वैदेशिक रोजगारी अवस्था, संशोधित वैदेशिक रोजगारी ऐनमा प्रमुख जिल्ला अधिकारीको भूमिका र आप्रवासी श्रोत केन्द्रसँगको सहकार्य विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले वैदेशिक रोजगारीसम्बन्धी न्यूनीकरणमा प्रहरीको भूमिकासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सामी परियोजना हेल्भेटासका कार्यक्रम अधिकृत उमा पौडेलले सामी परियोजनाको बारेमा जानकारी गराउनु भयो । कार्यक्रम संयोजक अन्जिता थापा मगरले आप्रवासी श्रोत केन्द्रले प्रदान गर्दै आएको सेवा, केन्द्रमा आएका समस्या र न्यायको सहजीकरणसम्बन्धी जानकारी गराउनुभयो ।

वैदेशिक रोजगारसम्बन्धी आएका समस्याहरु सिफारिस समाधानका लागि सहजीकरण र फलोअपलाई निरन्तरता दिने, जिल्ला प्रहरीसँग प्रभावकारी समन्वय गर्ने, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा न्यायिक समितिमा आएका वैदेशिक रोजगारका समस्याहरु छलफल तथा सहजीकरणका लागि आप्रवासी श्रोत केन्द्रमा सिफारिस गर्ने निर्णय पनि अन्तरक्रियामा सहभागी सरोकारवालाबीच भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्रले सही सूचना दिने, निशुल्क सीप र न्यायको पहुँचका लागि सहजीकरण गर्ने गर्दै आएको छ । साथै हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकामा वैदेशिक रोजगारीमा रहेका व्यक्तिको परिवारका सदस्यका लागि बित्तीय साक्षरता कक्षा, मनोसामाजिक परामर्श सेवा र रिटर्नी स्वयम्सेवक परिचालनमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

एकीकृत ग्रामीण विकास सेवाकी अध्यक्ष सीता बिष्ट अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका पप्पु शर्मा पौडेल, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने, आइभिडिएसका सचिव मीनराज पौडेल, जिल्ला प्रशासन र जिल्ला प्रहरीका मुद्दा शाखाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।