लागूऔषध गाँजासहित नियन्त्रणमा लिएका दुईजनालाई प्रहरीले सार्वजनिक गर्दै ।

हेटौंडाः एक सय ७५ केजी लागूऔषध गाँजासहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । थाहा नगरपालिकाको पालुङबाट पर्सा जिल्लाको बीरगन्जतर्फ जाँदै गरेको ट्रकबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो १२ बजेको समयमा मर्मतका लागि हेटौंडा–११, थानाभर्‍याङमा मर्मत गरिरहेको ना ३ ख ५९५० नम्बरको ट्रकबाट प्रहरीले गाँजा बरामद गरेको हो । ट्रकमा गाँजा भएको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौर नेतृत्वको प्रहरी टोलीले गाँजासहित ट्रक, ट्रक चालक भीमफेदी–९ का ३१ बर्षीय मोहन स्याङ्तान र ट्रकमा सवार थाहा–३ का २४ बर्षीय प्रशान्त कार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

ट्रकमा फल्स बटम बनाई लागूऔषध ढुवानी गरिएको पाइएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले बरामद गाँजा, गाँजा ढुवानी गर्ने ट्रकसहित नियन्त्रणमा लिइएका चालक र सवार व्यक्तिलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।