Under achievingschool को नेपाली रुपान्तरित नाम हो असफल स्कुल । अंग्रेजी शिक्षाविद् जोन हल्टको यस पुस्तकलाई नेपालीमा अनुवाद गर्ने काम नेपाली लेखक शरदचन्द्र वस्तीले गर्नु भएको छ । गैर आख्यानात्मक विधा अन्तर्गत रहेर लेखिएको यस पुस्तकलाई सिकाइ समूह प्रा.लि. अनामनगर,काठमाण्डौँले प्रकाशनमा ल्याएको हो । हालबजारमा २०७५ सालमा प्रकाशन भएको पुस्तकको दोस्रो संस्करण उपलब्ध रहेको छ । रु ४०० मूल्य तोकिएको यस पुस्तक २५० पृष्ठ संख्यामा तयार भएको छ साथै यस पुस्तकमा ९७८ –९९३७– ०– ११०३–७ISBN नम्बर रहेको छ । लेखक मूलतःशिक्षाविद् हुन्,उनको लेखनी बालमनोविज्ञान र शिक्षाका समग्र पक्षसँग सम्बन्धित छ । यस पुस्तकमा शिक्षा सम्बन्धी नवीन विचार प्रस्तुत गरिएको छ ।
स्कुल जानुपूर्व नै एउटा बालकले घर परिवार र समाजबाट धेरै कुरा सिकिसकेको हुन्छ । मूर्त र अमूर्त वस्तुबारे ज्ञान लिइसकेको हुन्छ । ऊ आफैले भाषाको निर्माण गर्न जानिसकेको हुन्छ । बालक विद्यालय प्रवेश गरिसकेपछि शिक्षक उसले सिकिसकेका कुराहरुलाई वास्तै नगरी मानौँ आजसम्म बालकले केहि नै सिकेको छैन जस्तै व्यवहार गर्न थाल्छन् । अनि केटाकेटीमा यस्तो भावना पैदा हुन्छ कि उसले आफैँले केहि सिक्नै सक्दैन । यसकारण बालक पूर्ण रुपमा शिक्षकमाथि नै भर पर्न थाल्छ । बालबालिकाको उमेर, रुचि र आवश्यकता अनुसारको बालमैत्री सिकाइ हुनपर्छ भनिरहँदा शिक्षकले गर्ने व्यवहार र बालबालिकाको स्वभावबीच तालमेल मिलेको देखिदैन । केटाकेटीले गल्ती गरेछन् भने पनि सुधार्ने अवसर उनीहरुलाई नै दिनु पर्छ ताकि उनीहरुले कहाँ नेर कस्तो किसिमको गल्ती भयो थाहा होस् र पुनःगल्ती नदोहोरियोस् । जब केटाकेटीका सानातिना गल्तीहरुमा शिक्षकको हस्तक्षेप हुन थाल्छ तब केटाकेटीको सिर्जनशिलता मर्दै जान्छ । प्रायजसो स्कुलभित्र यस्तै वातावरणको सिर्जना भैराखेको पाइन्छ । विद्यार्थीसँगको अन्तरक्रिया भनिएको हुन्छ तर विद्यार्थीलाई निष्क्रिय बस्न लगाएर शिक्षक नै धेरै बोलिरहेका हुन्छन् । बोल्ने मामलामा विद्यार्थीलाई यतिसम्म नियन्त्रण गरिन्छ कि स्कुलको खाजाखाने समयमा चमेना गृहभित्र बसेर बोल्न समेत बन्देज हुन्छ । त्यसैले एउटा विद्यार्थीले प्रकट गर्नुपर्ने अभिव्यक्तिहरु कुण्ठित हुन थाल्छ र विद्यार्थी अन्त र्मुखी बन्न थाल्छ ।
शैक्षिक क्षेत्रमा देखिएको अर्को समस्या पढाइको सजाय र व्याकरणगत समस्या पनि हो । केटाकेटीलाई आवश्यकभन्दा बढी शब्दहरु थोपरिदिएर त्यसको अर्थ याद गराउन खोज्नुले पनि केटाकेटीमा पढाइप्रतिको वितृष्णा पैदा गर्दै छ । कक्षागत आधारमा चाहिनेभन्दा बढी पुस्तकहरु राखेर त्यसभित्र भएका विषयवस्तुलाई जसरी भए पनि लड्न खोज्नुले पनि बालमनस्थितिलाई नराम्ररी असर गरिरहेको छ । पाठ्यवस्तु भित्र राखिएका कठिन भन्दा कठिन शब्दले उनीहरुको पढ्ने इच्छालाई मारिरहेको कुरा कसैले बुझ्न सकिरहेको छैन । त्यसमाथि पनि हिज्जेको सिद्घान्त लागु गरिदिदा उनीहरुको लेख्ने उर्जा समेत समाप्त हुदैँ गइरहेको छ ।
हिज्जे र व्याकरणका सानातिना गल्तीले विद्यार्थी फेल भै राखेको अवस्था छ । उसको लेखनमा भएको मौलिकता,लेखन शैली र अन्य विशेषतालाई बुझ्ने कोशिस गरिदैन । विद्यार्थीमा देखिएका व्याकरणगत समस्यालाई समाधान गर्न शिक्षकको अहम् भूमिका रहन्छ । शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया,सरल र सहज शब्दावलीको अधिकतम प्रयोगबाट यस्ता समस्याको समाधान गर्न सकिन्छ । वर्षको १८० दिन विद्यार्थीलाई अनिवार्य स्कुलमा उपस्थित हुन र्दिेशन गरिन्छ । हप्ताको ६ दिन लगातार स्कुल जानुपर्ने स्थितिले बच्चामा स्कुलप्रति घृणा जाग्न थाल्छ । सधैँ जाऊ ,कक्षाकार्य गर,गृहकार्य गर, शिक्षकका निर्देशन पालना गर,६ घण्टीका ६ थरीका निर्देशन,गल्ती गर्दाका सजाययी र यस्ता यावत कुराहरुले विद्यार्थीहरुमा स्कुलप्रति नकारात्मक भाव पैदा गर्ने हुँदा स्कुलको वातावरणलाई घर जस्तै अभिभावकत्वमय अनि स्वतन्त्र बनाउन सकियो भने सिकाइ सहज हुन्छ ।
समाजका लागि शिक्षा प्रतिस्पर्धात्मक खेल बन्नपुगेको छ । प्रत्येक अभिभावक आफ्ना केटाकेटीलाई त्यस प्रतिस्पर्धात्मक खेलमा सहभागी गराएर उत्कृष्ट हुन दबाब दिइरहेका छन् । उत्कृष्ट अंकप्राप्ती पछि उत्कृष्ट कलेजमा भर्ना हुन सकिने सपना देखाइरहेका हुन्छौँ । उत्कृष्टताको पछि दौडिदै गर्दा केटाकेटीमाथि परेको दिमागीबोझ र मनोवैज्ञानिक असर बारे बुझ्न सकिरहेका छैनन् । साथै स्कुल र कलेजहरु पनि यस्ता छन् कि उनीहरु प्नि उत्कृष्ट विद्यार्थी नै खोजिरहेका हुन्छन् । यसरी चारैतिरको चेपुवामा परेका विद्यार्थी आफू उत्कृष्ट र अब्बल हुन नसक्दा खेलमा पराजित खेलाडी झैँ गलित मनस्थितिमा पुग्छन्,व्यवसाय चौपट भएको व्यापारी जस्तो निराश बन्न पुग्छन् । परिवार, समाज र विद्यालय उनीहरुका लागि अमानवीय मेसिन जस्तो लाग्न थाल्छ । यसरी हेर्दा उच्च अंक ल्याउने विद्यार्थी प्रतिभाशाली भएर स्कुल र कलेजमा टिक्न सक्छन्, पढाइ पुरा गर्न सक्छन् तर कमजोर देखिएकाहरु भने पढाइबाट हातधोएर बस्नुपर्ने अवस्थाको सिर्जना भइरहेको छ । बालबालिकाको बौद्घिक क्षमतामाथि भेदभाव गर्नु शिक्षाक्षेत्रको मुख्य समस्या हो । पढाइलाई प्रयोगात्मक रुपमा लिन नसक्नुले शिक्षाको मुख्य उद्देश्य प्राप्त गर्न सकिरहेको छैन ।
पढेका विषयवस्तुलाई प्रयोग गरेर व्यवहारमा उतार्न सकिरहेको छैन । ३ घण्टाको समयसिमा तोकिदिएर उत्कृष्ट अंक ल्याउनका लागि लेख्न अभिप्रेरित गरिन्छ । तर बालबालिकालाई लेखेका कुराहरुलाई व्यवहारमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्म थाहा हुदैन । शिक्षाले व्यापक क्षेत्र ओगट्नु पर्ने हो तर त्यसो हुन सकिरहेको छैन । दिनानुदिन बेरोजगारीको संख्या उत्पादन गरिरहेको शैक्षिक प्रणालिभित्र भविष्य सुहाउदो शिक्षा समेट्न सकेको छैन । अन्तराष्ट्रिय बजारमा उठेका विविध समस्यासँग सम्बन्धित मुद्दा, जातिय र वर्गीय विभेदका समस्या, आणविक शस्त्र अस्त्रले निम्त्याएको युद्घको समस्या, मानिस भित्र उत्पन्न भएको चिन्ता,रोष,युद्घको मैदानबाट टाढारहेर बाँच्ने इच्छा,स्वतन्त्रता, शक्तिशालि राष्ट्रले साना राष्ट्रमाथि गरेको दबदबा,विश्वमा बढ्दै गइरहेको गरिबीको खतरा, प्रदुषित वातावरणमा बाँचिरहेको मानवीय जीवनको अवस्था लगायत यावत् विषय र पक्षहरुलाई सम्बोधन हुने गरि शिक्षाप्रणालीको विकाश हुनुपर्ने हो तर त्यो हुन सकिरहेको छैन । अझ भनौँ हालको शिक्षा नीति भविष्य लक्षित छँदै छैन ।
विद्यार्थीको उपलब्धि ग्रेड, डिग्री वा प्रमाणपत्रमा भन्दा पनि उसको व्यवहारिक जीवनमा देखिनुपर्छ । शिक्षक स्वतन्त्र,जानकार,जिज्ञासु र खोजकर्ता हुनुपर्छ । विद्यार्थीका लागि स्कुलको वातावरण कार्याशाला बन्नुपर्छ । सिक्नका लागि स्वतन्त्र र उन्मुक्त वातावरणको सिर्जना गरादिएर ,शिक्षक ,अभिभावक,विद्यार्थी र विद्यालय परिवारबीच उचित संयोजन हुन सकेमा सफल विद्यालयको निर्माण हुन्छ ।
अभिभावक,शिक्षक,विद्यालय प्रशासन र सम्पूर्ण शिक्षण–सिकाइ प्रणाली एवम् प्रक्रियामाथि लक्षित गरी लेखिएको यो पुस्तक निकै नै मार्मिक छ । बेरोजगारको संख्या उत्पादन गरिरहेको आजको विद्यालय वास्तवमा विद्यालय नभएर कारखाना बन्न पुगेकोमा उपहास यस पुस्तकले गरेको छ । नाफा खोज्ने व्यापारीका लागि शिक्षालय व्यपारको केन्द्र बन्नपुगेको तथ्य यस पुस्तकले निकालेको छ । यी व्यापक विकृति र समस्याहरुको चिरफारका लागिअनि सुधारका लागि हरेक क्षेत्रमा यो पुस्तक उपयोगी छ । शिक्षक, प्रधानाध्यापक, अभिभावक, गाउँ-नगरकापदाधिकारी, शिक्षाकर्मी र शैक्षिक क्षेत्रमा संलग्न जुनसुकै तह र वर्गका व्यक्ति वा संस्थाले यो पुस्तक पढ्नु जरुरी देखिन्छ । हालको शिक्षा प्रणालीको समग्रतालाई परिवर्तन गर्न यो पुस्तक महत्वपूर्ण साबित हुन्छ ।