तस्बिरः गुगल ।

हेटौंडाः हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिएको छ । बालदिवस कसरी मनाउनुपर्दछ भन्ने बारेमा आमरुपमा प्रश्न उठ्ने गरेको भए पनि आज मंगलबार मकवानपुरमा विविध कार्यक्रम गरेर राष्ट्रिय बालदिवस मनाइँदैछ । ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने आदर्श वाक्यका साथ बालदिवस विविध कार्यक्रम गरी मनाइने भएको हो ।

हेटौंडा-४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले राष्ट्रिय बालदिवसको अवसरमा आज मंगलबार माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको भूटनदेवी माविका प्रधानाध्यापक माधव दाहालले जानकारी दिनुभएको छ । कक्षा ९ र १० का विद्यार्र्थीबीच बालबालिकाको शिक्षामा कोभिड १९ को असर विषयक वक्तृत्वकला प्रतियोगिता हुने उहाँले बताउनुभयो ।

राष्ट्रिय बालदिवसकै अवसरमा आज हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले विद्यालयस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले मेरो जीवनको लक्ष्य र कक्षा ९ र १० का विद्यार्थीले कोभिड नियन्त्रणमा बालबालिकाको भूमिका शीर्षकको निबन्ध प्रतियोगितामा सहभागी जनाउने हेटौंडा उपमहानगरपालिका शिक्षा अधिकृत रामचन्द खड्काले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीले पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने खड्काले बताउनुभयो । उपमहानगरमा ७७ वटा सामुदायिक र ४६ वटा निजी विद्यालय रहे पनि आधारभूत र मावि तहका विद्यार्थीले मात्र प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार हाम्रो जिम्मेवारी’ नाराका साथ बालदिवस मनाउँदैछ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा तथा सावधानीसाथ स्थानीय तहमा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था, निजी क्षेत्र तथा विद्यालयहरुसँग समन्वय गरी बालदिवस मनाइँदैछ । बालबालिकासम्बन्धी रचनात्मक तथा सचेतनामूलक कार्यक्रमहरु आयोजना गरी भव्यरुपमा राष्ट्रिय बालदिवस मनाउन स्थानीय तहले स्वीकृति दिएसँगै बालदिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको हो ।

वि.सं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरिएको थियो । तत्कालीन रानी रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको थाहा पाएपछि नेपालमा पनि उहाँकै जन्मदिनमा बालदिवस मनाउने गरिएको थियो । भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभएकी रत्नराज्यले नेपालमा पनि बालमन्दिरको स्थापनासँगै बालदिवसको सुरुवात गरेर समाजसेवाको थालनी गर्नुभएको थियो ।

नेपालमा वर्षेनि बालदिवस मनाए पनि बालदिवसलाई परम्परागतरुपमा औपचारिकतामा मात्रै सीमित गरिरहेको अवस्था छ । देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भए पनि बालदिवस मनाउने शैलीमा खासै परिवर्तन हुन सकेको छैन । बालबालिकाका निम्ति चाहिने आधारभूत हकअधिकार वा उनीहरूको संरक्षणको सवालमा कति यस्ता दिवसमार्फत् कति उपलब्धी हासिल गर्न सकियो भन्ने लेखाजोखा आवश्यक छ । जसले राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिने बालअधिकारकर्मीहरुको धारणा छ ।

बालदिवस आफैंमा एउटा महत्वपूर्ण दिन भएकाले झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई अग्रभागमा राखेर बालबालिकाकै दिवसका रुपमा मनाउनु राम्रो हुने बालअधिकारकर्मीहरुले जनाएका छन् ।