मकवानपुरका विभिन्न साहित्यिक संस्थामा सक्रिय रहेर साहित्यको उन्नयनमा अमूल्य लेख रचनाहरु लेख्दै र प्रकाशित गर्दै आउनु भएका एक जुझारु युवा हुन्, दीपक गौतम । उनका थुप्रै फुटकर कविता, मुक्तक र गजल पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । तिनै मुक्तकहरुको संग्रह हो, विसङ्गत वर्तमान । लेखक गौतमको पहिलो कृति विसङ्गत वर्तमानलाई झरना साहित्यिक परिवार बकैया–४ मकवानपुरले वि.सं. २०७७ चैतमा प्रकाशनमा ल्याएको छ । ९२ पृष्ठ संख्या रहेको सानो आकारको कृतिभित्र १ सय ५१ मुक्तकहरु अटाएका छन् । आईएसबीएन ९७८९९३७०८१७६४ भएको यस पुस्तकको मूल्य व्यक्तिगत रु २०० र संस्थागत रु. ५०० तोकिएको छ ।
लेखकको लेखनशैली हेर्दा उनी प्रगतिवादी समाज सचेतक कवि हुन् । यो उनको पहिलो प्रकाशित कृति हो । देश दुःखेको कुरा, राष्ट्रियता गुमनाम भएको पीडा, समाज रोइरहेको व्यथा, प्रकृतिदेखि प्रियसीसम्मका कुरा, हिमालदेखि तराईसम्म विचरण गर्दा भोगेका समस्या, बलात्कारीदेखि भ्रष्टाचारीसम्मका काला कर्तुत, लुकाइएका कुरालगायत आस्तिकदेखि नास्तिकसम्म र यस जन्मदेखि पूर्वजन्मसम्मका विशाल भूगोललाई यस कृतिले समेटेको छ । कतै व्यङ्ग्य, कतै आक्रोश र कतै आग्रहको भाषासमेत प्रयोग गरिएको छ ।
यस कृति मुख्यतः राष्ट्र र राष्ट्रियताको अडानमा उभिएको छ । सामाजिक विकृति र विसङ्गति, राजनीतिले निम्त्याएको विकृति र विसङ्गति, युवाहरुमा उत्पन्न भएको निराशा र पलायनवादी सोच, समाजको वर्गीय विभेद, गरिब, श्रमिक, किसान र मजदुरका नाङ्गो आङ र भोको पेटभित्रको दर्दनाक अवस्थाको चित्रण, महिला हिंसा, बलात्कार र अपराधका घटना, साँघुरिदै गएको देशको सिमाना, बन्धकीमा परेको मेची र काली, केबल खोस्टो बन्न पुगेको नेपाली नागरिकतालगायत विविध पक्ष र विषयवस्तुमा रहेर मुक्तकको सिर्जना गर्नु पक्कै पनि कविको बौद्घिक खुबीको परिचय हो ।
सानो आकारको मुक्तक सङ्ग्रह भएर पनि कसिलो र चोटिलो शब्दावलीको प्रयोगले पाठकको मनमा राम्रै तरङ्ग पैदा गर्नसक्ने क्षमता यस पुस्तकले राखेको छ । जनताकै लागि गरिएको राजनैतिक परिवर्तन र भित्र्याइएको कुनै पनि नयाँ तन्त्रले जनतालाई छुनसम्म सकेको छैन । न्यायालयबाट न्याय बेचिरहेको यो देशमा न्याय किन्न नसकेर अन्यायमा परेकाहरुको निरीह अवस्थालाई सुन्न र हेर्न सक्ने क्षमता सरकारमा नरहेको तीतो यथार्थलाई झल्काइएको छ । त्यसैले कवि लेख्छन्ः
सबै मान्छे चरित्रमा गुणवान हुने भए
श्रम गर्ने सबको भाग्य बलवान हुने भए
सधैँ आकाश ओढ्न बाध्य किन हुन्थे
श्रमिक दुखियाको दुःख बुझ्ने भगवान हुने भए ।
हरेक कुनाकाप्चा, तह र तप्का, भोकोदेखि अघाएकासम्मको समस्या, लुटेरादेखि साधुसन्तसम्मका कुरा, शहरदेखि गाउँबस्तीका कुरा, बालापनदेखि वृद्घसम्मका कुरा, जमिन बाँझै छोडी मरुभूमिमा रमाउनेको समस्या, शैक्षिक क्षेत्रको अवस्था, वृद्घ आश्रमका बा–आमाको रोदनका कुरालगायत जुनसुकै क्षेत्रका विकृति र विसङ्गतिको पर्दाफास गरिएको छ । वर्तमान समाजको विकृत अनुहारलाई केलाइएको छ । समस्याको पहिचान र समाधानका लागि बाटो पहिल्याइएको छ । त्यसैले कवि लेख्छन्ः
सही दिशा लागेदेखि देश बन्न सक्छ
सङ्कल्प नभागेदेखि देश बन्न सक्छ
कुम्भकर्ण निदाए झैं निदाएर कहाँ हुन्छ
जनता सबै जागेदेखि देश बन्न सक्छ ।
यसरी निराशाभित्र पनि आशाको त्यान्द्रो भेट्टाउनु यस पुस्तकको महत्वपूर्ण तथा रोचक पक्ष हो । मकवानपुरे माटोमा रहेर कलम चलाउनेहरुमध्ये एक विशिष्ट साहित्यिक व्यक्तित्वको दर्जामा आफूलाई उभ्याउन सफल छन्, लेख कगौतम । बौद्घिक र वैचारिक दृष्टिकोणको सम्मिश्रणबाट तयार भएको यस मुक्तक सङ्ग्रह मुक्तक लेख्नेहरुका लागि प्रेरणाको स्रोत पक्कै बन्नेछ र पाठक वर्गले रुचाउनु हुनेछ ।
राष्ट्र र राष्ट्रियताको सवालमा रहेर समस्याको उठान गरिएको यस कृति नेपाली वाङ्मयको क्षेत्रमा छुट्टै स्तर बनाउन सफल भएको छ । सबै मिले देश बन्छ भन्ने मुख्य आशय व्यक्त गरिएको यस पुस्तकले आपसी समझदारी र सदाचारको व्यवहारलाई अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ । मिठो बोलिवचन र व्यवहारले सबैको मन जित्न सकिन्छ भने एउटै अनुशासन र सिद्धान्तले युद्ध जित्न सकिने प्रसङ्गलाई पाण्डव र कौरवसँग जोड्नुले उत्कृष्ट दृष्टान्त प्रदान गरेको छ ।
जुनसुकै वर्ग र व्यक्तिले पढ्नैपर्ने यो पुस्तक शासक वर्गका लागि त जनता हेर्ने ऐना हुनसक्छ । शोषित पीडित वर्गका साथै युवा वर्गका लागि अगाडि हिँड्ने बाटो हुनसक्छ, यो पुस्तक । उठ्न, जुट्न र जागरुक हुन आह्वान गर्दछ, यस पुस्तकले । जस्तोसुकै अवस्थामा पनि देशभक्ति मर्न सक्दैन भन्ने उक्तिलाई आत्मसाथ गर्दै सबैलाई देशप्रति बफादार हुन आग्रह गरिएको यो कृति पढेर पाठकीय मन न्याय, समानता, अधिकार र देशभक्तिप्रति ओतप्रोत हुनेछ भनी विश्वास गर्न सकिन्छ ।
जनतामा उत्पन्न निराशा, कुण्ठालाई लिएर सम्बन्धित पक्षमाथि व्यंग्य गरिएको यस कृतिमा निमुखा जनताको बोली बोलिएको छ । जीवनमा प्रेमको महत्वलाई प्रष्ट्याइएको छ । बाआमाले छोराछोरीमाथि गर्ने प्रेम र युवायुवतीबीच हुने प्रेमको अलग परिभाषा बताइएको छ । बाआमा नै सुखस्वर्ग हुन्, भगवानका रुप हुन् भन्ने भाव पढ्दै गर्दा वृद्घाश्रममा जीवन गुजारिरहेका बाआमा सम्झेर भावुक बनिन्छ । चेलीको इज्जत र अस्मितामाथि खेलवाड गरेर समाजमा उन्मुक्त भई बाँचेका नरपिचासहरुप्रति आक्रोश जगाइदिन्छ । आजै गएर लिपुलेकमा झण्डा गाड्न उत्प्रेरित भइन्छ । पुस्तक पढिरहँदा कतै मनलाई प्रफुल्लित गराउँछ भने कतै विस्मित पनि हुन्छ । यति हुँदाहुँदै पनि विषयवस्तुले गहिराइ भेट्न नसक्नु पुस्तकको कमजोर पक्ष देखिएको छ । एउटै खालका विषय, विचार र भावलाई बुझाउने पंक्तिहरु पटकपटक दोहोरिएर लेखिनुले पुस्तकको स्तरलाई कमजोर बनाइदिएको छ । उदाहरणका रुपमा तलका मुक्तकहरु समान विषय र विचारसँग सम्बन्धित देखिन्छन्
लिपुलेक कसको भन ? कालापानी कसको ?
वैरीसँग लड्ने प्यारो नालापानी कसको ?
छिमेकीले जङ्गेपिल्लर वारि सारिसक्दा
हिसाब गर्दै बस्छ सरकार लाभहाति कसको ?
महँगीले राज गर्दा सरकार किन मौन बस्छ ?
भोकमरीले गरिब मर्दा सरकार किन मौन बस्छ ?
सिमानाका जनता सधैँ रुँदै यसो भनिरहेछन्
घरकै आँगनपारि सर्दा सरकार किन मौन बस्छ ?
त्यसैगरी मुक्तकीय विशेषताअन्तर्गत् पर्ने संक्षिप्तता, सूत्रात्मकता, प्रतीकात्मकताजस्ता सवालमा पनि कतिपय मुक्तकहरु कमजोर देखिन्छन् । तर जेहोस् नेपाली मुक्तक परम्परामा यो कृति पक्कै महत्वपूर्ण हुनेछ । शुभकामना ।।