हेटौंडाः भगवान कृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी पर्व आज मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरुले भगवान कृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गरिएको छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यताका आधारमा यो पर्व मनाउने गरिएको हो ।
कृष्ण जन्माष्टमीका दिन विशेषगरी महिलाहरुले व्रत तथा राति जाग्राम बसेर श्रीकृष्णको आराधना गर्ने गर्दछन् । कृष्ण जन्माष्टमीको दिन कृष्ण मन्दिरहरुमा भक्तजनको भिड लाग्ने गरेको भए पनि यसवर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । विभिन्न धार्मिक संघसंस्थाले गर्ने गरेको श्रीकृष्ण झुला, शोभायात्रा, रथयात्रालगायतका कार्य पनि प्रभावित भएको छ । यस वर्ष नेपाल सरकारले कृष्ण जन्माष्टमीको अवसरमा आज सोमबार देशभर सार्वजनिक विदा दिएको छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रुपमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंसले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीको कोखबाट श्रीकृष्णको जन्म भएको थियो । महाभारत युद्धको बेला कुरुक्षेत्रमा कौरव–पाण्डवको लडाईंमा अर्जुनलाई उपदेश दिँदा श्रीकृष्णबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरुको पवित्र ग्रन्थ मानिन्छ ।